Play

सभापति थापाको राजीनामा अस्वीकृत गर्दै महाधिबेशनमा केन्द्रित हुने कांग्रेसको निर्णय, कार्की आयोगको प्रतिबेदन सार्बजनिक गर्न माग

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार थापाले दिएको राजिनामालाई अस्वीकृत गर्ने निर्णय गरेको छ। बैठकपछि पार्टीका प्रबक्ता देबराज चालिसेले जारी गरेको प्रेस बिज्ञप्तीमा सभापति गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको उल्लेख गरिएको छ।

पार्टीको बिशेष महाधिबेशनबाट निर्बिरोध निर्बाचित सभापति गगन थापाको नेतृत्वमा रहेको नेपाली काँग्रेसले यस पटक अर्थात फागुन २१ को चुनाबमा नराम्रोसंग पराजय भोगुपर्यो भने सभापति थापा सहित सबैजसो पदाधिकारी र सदस्यहरु पनि चुनाबमा पराजित बन्न पुगे। निर्बाचनमा कांग्रेसको पक्षमा प्रत्यक्ष एबम समानुपातिक तर्फ कम मत खसेपछि यसको नैतिक जिम्मेवारी लिने भन्दै थापाले यहि चैत्र ५ गते उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा पेश गरेका थिए।

चैत्र ६ गते केन्द्रीय समितिको बैठक निर्धारित गरिएकोमा त्यसको १ दिन अगाडी सभापति पदबाट राजीनामा दिएका थापा सोहि दिन परिवारका सदस्य सहित पोखरा आएका थिए ।पोखरामा पनि उनि सार्बजनिक कार्यक्रम र सार्बजनिक भेटघाटमा समेत देखिएनन । उनको अनुपस्थितिमा र उपसभापति शर्माको अध्यक्षतामा भएको बैठकले गहन छलफल, विश्लेषण तथा समिक्षा पश्चात उनको राजीनाम अस्वीकृत गर्ने निर्णय गरेपछि अब थापाले के गर्लान भन्ने चर्चा चलिरहेको छ।

बैठकमा उपसभापति शर्माले प्रस्तुत गरेको चुनाबको समिक्षा सम्बन्धि विषयका अतिरिक्त सभापति थापाको राजिनामाको बिषयमा ८८ जना केन्द्रीय सदस्य तथा पदाधिकारिहरूले आआफ्नो धारणा राखेको बताइएको छ । बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गर्नुपर्ने बिभिन्न ८ वटा आधार समेत सार्बजनिक गरिएको छ जस अनुसार निर्वाचनमा पराजय हुनुमा संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको उल्लेख गर्दै वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको र राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले पनि राजीनामा अस्वीकृत गरिएको उल्लेख छ।

यसैगरी राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले, सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले, विशेष महाअधिवेशन पश्चात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले, पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले र केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले सभापति थापाको राजीनामा अस्विकृत गरिएको जनाइएको छ।

बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि विस्तृत छलफल गरि परिमार्जन सहित पारित गरेको जनाएको छ । पार्टी भित्र चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण संगठनात्मक शक्ति कमजोर भएको, गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षा विपरीत परिणाम देखिएको, विगतका शासन व्यवस्थाका संरचनागत कमजोरीहरू (३५ वर्षमा ३२ सरकार परिवर्तनसमेत ) का कारण जनआक्रोश बढेको, जेन–जेड युवा आन्दोलनले पुराना राजनीतिक शक्तिहरूप्रति असन्तोष अभिव्यक्त गरेको र डिजिटल युगमा एल्गोरिदमिक प्रभावका कारण नयाँ शक्तिहरू लाई प्रतिकृयात्मक लाभ पुगेको कारण निर्बाचनमा कांग्रेसको पक्षमा कमजोर परिणाम आएको उल्लेख गरिएको छ।

यी सबै कारणहरू व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य रहेको बैठकले ठहर गरेको छ। विशेष महाधिवेशन पश्चात् गठन भएको नयाँ नेतृत्वलाई सीमित समयावधि (करिब ५० दिन) भित्र यी सबै चुनौतीहरू समाधान गर्न कठिन भएको निष्कर्ष समेत बैठकले निकालेको बिज्ञप्तीमा जनाइएको छ ।

बैठकले अब पार्टीलाई पूर्ण रूपमा १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्ने र महाधिबेशनबाट नयाँ नेतृत्व चयन, विधान संशोधन, संगठनात्मक पुनर्संरचना तथा भावी रणनीति निर्धारण गर्ने कार्यदिशा समेत तय गरेको जनाईएको छ । पार्टीका सम्पूर्ण ऊर्जा, योजना र प्रतिबद्धता अब महाधिवेशनको सफलतामा केन्द्रित गर्ने भन्दै बैठकले निर्वाचन परिणामलाई आत्मसमिक्षा गर्दै नेपाली कांग्रेसले पार्टीलाई पुनर्जागरण र पुनर्निर्माण गर्ने अवसर का रूपमा लिएको स्पष्ट पारेको छ। यसका लागि सम्पूर्ण कार्यकर्तालाई उच्च मनोबल कायम राख्न, अनुशासनमा रहन र पार्टी एकता सुदृढ गर्न समेत बैठकले आह्वान गरेको छ।

बैठकले निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउने सम्पूर्ण उम्मेदवार, कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाहरूतथा स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गर्नुको साथै विजयी सबै उम्मेदवारहरूलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ । ‘कठिन परिस्थितिका बाबजुद नेपाली कांग्रेसलाई मत प्रदान गर्ने सम्पूर्ण मतदाताप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौं साथै जनताको मतादेश र स्पष्ट सन्देशलाई पार्टीले गम्भीरतापूर्वक आत्मसात गर्दछौ ।’ निर्णयमा भनिएको छ

यसैगरी बैठकले मध्यपूर्वमा चर्किएको युद्दको बारेमा चिन्ता प्रकट गरेको छ ‘ नेपाली कांग्रेसले विश्वशान्तीको अनिवार्य आवश्यकतालाई महसुस गर्दै युद्दको अन्त्य हुने अपेक्षा गर्दछ । युद्दग्रस्त क्षेत्रमा लाखौ नेपालीहरू असुरक्षित रहेकोले तीनको आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छ र युद्दको क्रममा हर्मुज क्षेत्रको वन्दर अव्वास वन्दरगाहमा ईरानी सेनाद्वारा नियन्त्रणमा लिएका नेपाली नागरिक अमृत झालाई सकुसल मुक्त गरि स्वदेश फर्काउन यो वैठक नेपाल सरकार संग माग गर्दछ ।’ बिज्ञप्तीमा उल्लेख छ।

बैठकले २०८२ भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटना बारे न्यायिक जाँचवुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगद्वारा नेपाल सरकारलाई बुझाएको जाँचवुझ प्रतिवेदन अविलम्व सार्वजनिक गर्न समेत माग गरेको छ ।

८ चैत्र २०८२, आईतवार २१:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा