विराटनगर, बिराटनगरको कञ्चनबारीमा रहेको सिटिजन्स बैंकको शाखामा करिव पांच करोडको घोटाला भएको घटनामा बेंककै कर्मचारी संलग्न रहेको र नक्कली ऋणी खडा गरी पदको दुरुपयोग गरेको खुलेको छ । उक्त शाखाबाट करिब पांच बर्ष अगाडी भएको यस्तै घटनामा तत्कालिन शाखा प्रमुख रुपेश राजबंशी कारबाहीमा परेका थिए ।
यस पटकको घटनामा पनि नक्कली ऋणी खडा गरेर कर्जाका रुपमा४ करोड ९१ लाख रुपैया बैंकबाट निकालेर ठगि गरिएको खुलेको छ । प्रहरीले उक्त घटनाको थप अनुसन्धान गरिरहेको छ । नक्कली ऋणी देखाएर कर्मचारीबाटै यति ठुलो रकम हिनामिना गरिएपछि शुरुवातमा अन्तरिक रुपमा मिलाउने प्रयास गरिएको भएपनि र पछि प्रहरीसमक्ष घटना पुगेको हो ।
प्रहरीका अनुसार बैंकको सोहि शाखा कार्यालयको सञ्चालन विभाग प्रमुख रोजी कँडेलको अगुवाईमा र अन्य कर्मचारीहरु समेतको संलग्नतामा उक्त घटना भएको बताइएको छ । यस अघि पनि उक्त बेंकमा यस्तै घटना भएको प्रहरीले जनाएको छ ।
बैंकको लेखा परिक्षणको क्रममा उक्त ऋण लगानी संकास्पद देखिएपछि आन्तरिक रुपमा छानबिन प्रारम्भ गरिएको थियो। नक्कली ऋणी खडा गरेर ऋण प्रवाह गरिएको भएपनि शुरुवातको समयमा ऋणको किस्ता नियमित गरिएको कारण बैंकले समेत कुनै शंका गरेको थिएन ।
समय बित्दै जाँदा र किस्ता समेत नियमित हुन नसकेपछि उक्त ऋण र ऋणीको बारेमा बुझ्दै जाँदा बैंककै कर्मचारीको मिलेमतोमा नक्कली ऋणी खडा गरेर उक्त रकम अनियमितता गरेको घटना सार्बजनिक भएको हो।
९ जना कर्मचारी निलम्बित
यसैबीच उक्त घटनामा संलग्न रहेको अभियोगमा बैंकका नौ जना कर्मचारीलाई निलम्बन गरेर अनुसन्धान गरिएको छ । बैंकका कार्यालय सञ्चालन विभाग प्रमुख रोजी कँडेल सहित ९ जना कर्मचारी निलम्बनमा परेको बताइएको छ । निलम्बीत कर्मचारीलाई बैंकिङ कसुरमा कारबाही हुने छ । केहीले भने कार्बाहीमा परीने भएपछि राजीनामा दिइसकेका छन् ।














