काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं विश्व सम्मेलन तथा एकताको महाधिवेशनले नेपालको समृद्धि, लगानी प्रवर्द्धन, प्रवासी नेपालीको अधिकार संरक्षण र दोस्रो पुस्तालाई नेपालसँग जोड्ने लक्ष्यसहित १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । विश्वभर छरिएर रहेका नेपाली समुदायको एकताको भावनासहित नेपालको विकास र विश्वव्यापी नेपाली समुदायको हितलाई केन्द्रमा राख्दै सम्मेलनले विभिन्न नीतिगत सुधार, लगानी प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्यका पहललाई प्राथमिकता दिएको जनाएको छ ।
सम्मेलनले गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्न तथा कानुनी सुधार गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । रोजगारी सिर्जना, उद्यमशीलता विकास र भौतिक पूर्वाधार विस्तारमार्फत समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यसैगरी चल तथा अचल सम्पत्तिको कारोबार, धितोपत्रमार्फत लगानी, बैंक खाता खोल्ने तथा लगानी फिर्ता लैजाने प्रक्रिया सहज बनाउन छुट्टै निकाय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । यसका लागि एनआरएन ऐन, नागरिकता ऐन, आयकर ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र मालपोतसम्बन्धी नियमावलीहरू संशोधन गर्न सम्मेलनले सरकारसँग अनुरोध गरेको छ ।

नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डबाट जारी हुने धितोपत्रको सीमा ४५ प्रतिशत अविलम्ब कायम गर्न पनि सम्मेलनले माग गरेको छ। सम्मेलनले मध्यपूर्वको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपालीहरू संकटमा परे राहत, उद्धार र पुनर्स्थापनामा सहयोग गर्न नेपाल सरकार तथा अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य सुदृढ बनाउने जनाएको छ । त्यसैगरी विदेशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तर्राष्ट्रिय संस्था र नेपाल सरकारसँग सहकार्य गर्दै नीतिगत सुधारका पहल अघि बढाइने बताइएको छ ।
प्रवासमा जन्मिएका तथा हुर्किएका दोस्रो पुस्ताका युवाहरूलाई नेपाली भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोड्न शिक्षा, सांस्कृतिक कार्यक्रम तथा डिजिटल माध्यममार्फत पहल गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । साथै विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ताको ज्ञान, प्रविधि र नवप्रवर्तनको आदानप्रदानमार्फत नेपालको विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ ।
एनआरएनएको १२ औं विश्व सम्मेलन तथा एकताको महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आगामी सरकारसँग निरन्तर सहकार्य गर्दै अघि बढ्ने अपेक्षा पनि व्यक्त गरेको छ । साथै गैरआवासीय नेपाली संघलाई विश्वभरका नेपालीहरूको साझा र समावेशी संस्थाका रूपमा सुदृढ बनाउँदै एकता, सहकार्य र पारस्परिक सम्मानको संस्कृतिलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ ।















