रुकुम, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा दुईजना किशोरीको शव भेटिएको छ । गाउँमा छिमेकीको घरमा विवाह हेर्न भनि गएका तीनजना किशोरीहरुमध्ये दुई जनाको शब भेटिएको र एकजना किशोरी हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ।
किशोरीहरुको मृत्युलाई कतिपयले रहस्यमय घटनाको रुपमा लिएको भएपनि कतिपयले भने बिबाह हेरेर घर फर्किने क्रममा सानीभेरी नदीले उनिहरुलाई बगाएको कारण दुखद घटना भएको हुनसक्ने अनुमान समेत गरेका छन ।
प्रहरीले बेपत्ता किशोरीको खोजी भइरहेको र घटना सम्बन्धमा अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयले रुकुम पश्चिमका अनुसार बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्ले नजिकै सानीभेरी नदी किनारामा फेला परेको थियो।
जिल्ला प्रहरीका प्रहरी निरीक्षक हरिप्रसाद पुनले दिएको जानकारी अनुसार १२ वर्षीया सपना ओलीको भने खोजी भइरहेको छ । उर्मिला र कल्पनाको ५०० मिटर दूरीको अन्तरमा शव फेला परेको हो । घटनास्थलमा प्रहरी निरीक्षक पुनसहितको प्रहरी टोली र अस्थायी प्रहरी पोष्ट छिनखेतबाट प्रहरी टोली पुगेको छ ।

















