बागलुङ, बागलुङ जिल्लाको निर्बाचन क्षेत्र २ अन्तर्गत गलकोट नगरपालिका–१० रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेको मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ। निर्बाचन क्षेत्रका अन्य मतदान अधिकृतहरू समेत रहेको ह्वाट्सएप ग्रुपमा गलत अभिव्यक्ति दिएपछि उनको जिम्मेवारी खोसिएको बाग्लुंग क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिएका छन ।
मतदान अधिकृत गैरेको अभिव्यक्ति र गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा नकारात्मक प्रभाव पर्न सक्ने देखिएपछि जिम्मेवारी खोसिएको बताउंदै निर्बाचन अधिकृत सुबेदीले गैरे खटिएको मतदान केन्द्रमा भुवन बहादुर कुँवरलाई मतदान अधिकृतको रूपमा खटाइएको जानकारी दिए ।
सुबेदीका अनुसार निर्वाचन अधिकृतको कार्यालयले गैरेलाई पत्र पठाएर जिम्मेवारी खोसेको छ । पत्रमा मतदान अधिकृतले गर्न नहुने किसिमका गतिविधि गरेको देखिएकाले जिम्मेवारीबाट हटाइएको उल्लेख गरिएको छ । गैरेलाई आफ्नो जिम्मामा रहेका मतपत्र लगायत मतदान सामग्री तुरुन्तै सुरक्षा निकायलाई बुझाउन र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ ।
मतदान अधिकृत हटाइएको जानकारी निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित निकायलाई समेत गराइएको कार्यालयले जनाएको छ ।















