काठमाडौं, फागुन २१ गते बिहिबार हुने निर्बाचन बिथोल्न खोजेको आरोपमा देशका बिभिन्न स्थानबाट १ सय ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार मंगलवार मात्र देशभरबाट १ सय ४२ जनालाई पक्राउ गरिएको छ । यस अगाडी सोमबार मात्रै ९ जना पक्राउ परेका थिए ।
पक्राउ परेकामध्ये अहिले ७६ जना हिरासतमा राखिएको भएपनि बाँकी ६६ जना भने हिरासत मुक्त भएका छन् । चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष रुद्रनाथ अधिकारीलाई पनि पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । फागुन २१ गते अनिष्ट छ, चुनाव हुँदैन भन्दै बोलेका ज्योतिष अधिकारीलाई चन्द्रागिरिबाट पक्राउ गरिएको हो ।
निर्बाचनको बिषयमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने ३२ जना समातिएका छन् । सामाजिक सञ्जालमार्फत बिभिन्न अफवाह र भ्रम फैलाएको, निर्वाचन विरोधी काम गरेको, आचारसंहिता उल्लघंन गरेका जस्ता घटनामा संलग्न भएको आरोपमा प्रहरी प्रधान कार्यालयमा रहेको केन्द्रीय निर्वाचन सेलले ३२ जनालाई पक्राउ गरेको हो ।
केन्द्रीय निर्वाचन सेलअन्तर्गत मातहतका बिभिन्न प्रहरी कार्यालयहरुमा साइबर सेलहरू खडा गरिएको छ । यही साइबर सेलले सातवटा प्रदेशका विभिन्न जिल्लाबाट ३२ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये १७ जना छुटेका छन् भने १५ जनालाई हिरासतमै राखेर अनुसन्धान अघि बढाइएको छ ।
यसैबीच, फागुन २१ गते हुने निर्बाचनको सुरक्षाका लागि ललितपुरमा गस्तीमा हिंडेका प्रहरी टोलीमाथि आक्रमण गरेको अभियोगमा चारजना लाई पक्राउ गरिएको छ । महालक्ष्मी नगरपालिका–७ चाँगाथली एरियामा प्रहरी प्रभाग लुभुबाट खटिएको टोलीमा गएराति पौने ११ बजेको समयमा आक्रमण भएको थियो।
प्रहरीका अनुसार, ती व्यक्तिहरूले प्रहरीलाई ढुंगामुढा गरेका थिए । लगत्तै, प्रहरीले आत्मरक्षाका लागि १ राउन्ड हवाइ फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न रहेको व्यक्तिहरूलाई पक्राउ गरी जिल्ला अदालत ललितपुरबाट ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । घटनामा घाइते भएका प्रहरी कर्मचारीको भने किष्ट अस्पतालमा उपचार भइरहेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर मकवानपुर गढी गाउँपालिका–२ घर भएका २९ वर्षीय विकास भन्ने बुद्ध तामाङ, सल्यान दार्मा गाउँपालिका –३ घर भएका २० वर्षीय रमेश शाही, दार्मा गाउँपालिका–३ घर भएका २० वर्षीय शंकर शाही र रुकुम सानोभेरी गाउँपालिका–२ का २२ वर्षीय राजु मगर रहेका छन् ।
यस अगाडी निर्बाचन बिथोल्न लागेको भन्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई यस अगाडी भक्तपुर प्रहरीले फागुन १७ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको छ । प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको र उनी अहिले भक्तपुर प्रहरीको हिरासतमा छन् ।
दुर्गा प्रसाईं समुहमा संलग्न रहेको आरोप लागेका दुईजनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ नै स्थायी ठेगाना भएका ५५ वर्षीय कृष्ण मिजार छन् । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूलाई चन्द्रागिरिबाट पक्राउ गरिएको हो ।
प्रसाईं समूहलाई निर्वाचन बहिष्कारको समूहमा प्रहरीले नोटिसमा रोखेको छ । प्रसाईंसँगै विभिन्न १२ वटा समूहलाई निर्वाचनमा सुरक्षा चुनौती बनाउन सक्ने भन्दै प्रहरीले निगरानीमा राखेको थियो । तर उनीहरूबाट अहिलेसम्म कुनै त्यस्तो ठूलो क्षति हुने काम नभएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले बताउँछन् ।
यसैगरी मंगलवार नै सशस्त्र प्रहरी बलको टोलीले भक्तपुरबाट इन्सास राइफल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल र गोलीसहित गोरखाको पालुङटार नगरपालिका–९ घर भएका ३१ वर्षीय आयन सेढाइ पक्राउ परे । भुम्डोल बस्दै आएका उनीबाट राइफल र एसएलआरको ४ राउन्ड गोली, प्लास्टिक राउन्ड २ वटा, सट गनमा लाग्ने राउन्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा बरामद भएको छ ।
उनीबाट बरामद हतियार जेनजी आन्दोलनमा सुरक्षाकर्मीबाट लुटिएको हुनसक्ने आशंका गरिएको छ । उनी हतियार नै लिएर निर्वाचन बिथोल्न हिँड्नेभन्दा पनि हतियार कोठामा लुकाएर राखेको सूचना पाएपछि सशस्त्र प्रहरीले पक्राउ गरेको थियो ।
विराटनगरमा भने बिहानै बम जस्तो शंकास्पद वस्तु भन्दै त्रास फैलियो । रातिबाट यस्तो सूचना आएपछि रातभर सुरक्षा सतर्कता बढाइयो । प्रशासन कार्यालयको नजिकै शंकास्पद वस्तु देखिएपछि त्रास बढ्नु स्वाभाविक थियो । नेपाली सेनाको सूर्यदल गणबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा भने त्यो शंकास्पद वस्तु हाँडी रहेको खुल्यो । बर्दिबासको रातु पुलमा पनि त्यस्तै शंकास्पद वस्तु फेला परेको छ । सेनाको टोलीले उक्त वस्तुलाई डिस्पोज गरेको छ ।
यसैगरी पोखराको लेकसाइडमा पनि शंकास्पद बस्तु रहेको झोला भेटिएपछि सर्बसाधारण त्रसित बनेका थिए नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको प्रक्रिया अगाडी बढाउँदा झोला भित्रको उक्त बस्तु बम नभएको पुष्टि भएको थियो करिब दुई घण्टा उक्त घटनाको कारण त्यस क्षेत्रको जनजीबन प्रभावित बनेको थियो















