धरान, यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरी प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरी जिल्लाका विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
इलाम जिल्ला माङ्सेबुङ गाउँपालिका–१ बस्ने ३८ वर्षीय प्रबिन मिश्र त्यसैगरी मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका–१० का ५१ वर्षीय सिताराम बुढाथोकी र भोजपुर साल्पा सिलिछो गाउँपालिका–१ का ४६ वर्षीय डिल्लिराम बोहोरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भईरहेको प्रहरी कार्यलय सुनसरीले जनाएको छ। यस अघि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुई जना नेतालाई प्रहरीले इटहरीबाट पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा पार्टीका १५ नम्बर ब्युरो इन्चार्ज सिताराम बुढाथोकी र सोही ब्युरोका सचिव डिल्ली बोहोरा रहेको बताइएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले उनीहरूलाई इटहरीस्थित पशुपति चोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगेको जनाएको छ।















