Play

पोखराको चुनाबीसभामा कांग्रेस सभापति गगनको गर्जन: नयाँलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउनुहुन्न

पुर्व प्रधानमन्त्री देउवाको र आंफ्नो सम्पति सहित हरेक काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने


गुरुकुल खबर


पोखरा,  नेपाली कांग्रेसले मुलुकका बिभिन्न स्थानमा चुनाबी सभा गर्नेक्रममा शुक्रबार पोखरामा पनि चुनाबी सभा सम्पन्न भएको छ। पोखराको अमरसिंहचौरमा आयोजित उक्त सभामा नेपाली काँग्रेसका कास्की जिल्लाको बिभिन्न पालिकहरुबाट आएका कार्यकर्ता एबम समर्थकहरुको साथै छिमेकी जिल्लाबाट समेत केहि कांग्रेस कार्यकर्ताहरुको सहभागिता रहेको थियो। चुनाबी सभामा कार्यकर्ता एबम समर्थकहरुको उपस्थिति बाक्लो बनाउन करिब १ सयवटा बस कास्की जिल्लाको विभिन्न वडा र टोलमा पठाइएको र १५ हजारको हाराहारीमा मानिसहरु उपस्थित गराउने लक्ष राखिएको भएपनि करिब ६  हजारको संख्यामा मानिसहरुको उपस्थिति रहेको अनुमान गरिएको छ।

सभामा नेपाली काँग्रेसको बिशेष महाधिबेशनपछि बनेको नयाँ कार्यसमितिका सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा सहित केन्द्रीय समितिका सदस्यहरुको समेत सहभगिता रहेको भएपनि सभापति थापा र उपसभापति शर्मा, आसन्न निर्बाचनमा कास्कीका ३ क्षेत्रबाट प्रत्यक्षतर्फका उमेदवारहरु तिलक रानाभाट, माधव प्रसाद बाँस्तोला र मनोज गुरुङ,  समानुपातिक तर्फका उमेदवार आइबहादुर गुरुङको साथै कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले मात्र आआफ्नो भनाई राखेका थिए। सभामा नेपाली काँग्रेसका पुर्व महामन्त्री तारानाथ रानाभाट, प्रबक्ता देबराज चालिसे, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, केन्द्रीय सदस्य कृष्ण केसी, पुर्व सहमहामन्त्री जिबन परियार सहित अन्य नेताहरुको समेतको सहभागिता रहेपनि उनीहरुलाई बोल्ने समय भने दिईएन ।

सभापति थापा बुटवल र बाग्लुंगमा आयोजित चुनाबी सभामा सहभागि भएर पोखराको सभामा सहभागि हुन आएका थिए। एकै दिन बिभिन्न स्थानका चुनाबी सभामा सहभागी हुन सभापति थापाले हेलिकप्टरको प्रयोग गरेका थिए। पोखराको सभामा सहभगी हुन हेलिकप्टरबाट अमरसिंहचौरमा अबतरण भए लगत्तै सभापति थापा सोझै स्टेजमा पुगेर सम्बोधन गरेका थिए। उपसभापति विश्वप्रकाश शर्माको सम्बोधन सकेर एउटा सांगीतिक कार्यक्रम शुरु हुन लाग्दा सभास्थलमा पुगेका थापाले स्टेज नपुग्दै सांगीतिक कार्यक्रम रोकेर आँफुलाई बोल्ने समय उपलब्ध गराउन इशारा गर्दै सरासर स्टेज चढेर पोडीयममा पुगेर सम्बोधन गरेका हुन।

सम्बोधनको शुरुवातमा नै सभापति थापाले आँफु ८/१० मिनट भन्दा बढी समय बिताउन नसक्ने बताएका थिए। तर भनेको भन्दा केहि मिनट मात्र बढी समय खर्च गरेका थापा सम्बोधन सके लगत्तै समारोहस्थलबाट निस्केर नजिकै राखिएको हेलिकप्टरबाट बाहिरिएका थिए। निकै हतारमा रहेको अभिव्यक्ति दिएका उनले धेरै ठाउँमा पुग्दा र धेरैसंग हात मिलाउँदा हत्केलामा घाउ आएको समेत बताए। ‘हातमा घाउ आएको छन तर यो सबैको माया हो भन्ने मलाइ लागेको छ’ उनले भने।

कास्कीका तीनजनाले जितेर जिम्मेवारीपुर्वक काम गर्ने बिश्वास 

उनले आंफ्नो सम्बोधनको क्रममा कास्कीका  तीनजना उमेदवारहरु मध्ये तिलक रानाभाटले बैदेशिक रोजगारीमा गएकाहरुको लगानीमा जलबिधुत आयोजना संचालन गर्ने बिषयमा आँफुलाई दवाब दिएकोले कांग्रेसको प्रतिज्ञापत्रमा उक्त कुरा समाबेश गरिएको बताए । अर्का उमेदवार माधव बास्तोला मधुलाई इमान भएको नेता र मनोज गुरुङलाई कास्कीको अन्नपूर्ण संरक्षन क्षेत्र बुझेको र युवाहरुको पक्षमा धेरै काम गर्न सक्ने व्यक्तित्वको रुपमा चिनाउदै कास्कीबाट विजयी हुने सबै सांसदहरु आंफ्नो नेतृत्वको सरकार र संसदमा संगसंगै जिम्मेवार ढंगले काम गर्ने बिश्वास ब्यक्त गरे।

 पुर्व प्रधानमन्त्री देउवाको सम्पति सहित हरेक काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने 

सभापति थापाले आंफ्नो सम्बोधनका क्रममा अहिले नेपाली काँग्रेस धेरै सुध्रिएर आएकाले कांग्रेसलाई मत हाल्नुपर्ने धेरै कारण रहेको र कांग्रेसलाई मत हाल्नुनपर्ने कुनै कारण नरहेको बताए । उनले अब बन्ने कांग्रेसको सरकारले शक्तिशाली आयोग बनाएर २०४६ सालपछिका  हरेक काण्डको एक–एक छानबिन गर्ने अठोट व्यक्त गरे ।

यसै सन्दर्भमा उनले कांग्रेसका निबर्तमान सभापति समेत रहेका पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पति छानबिन गर्ने घोषणा गरे सभापति थापाले अरु कुनै पुर्व प्रधानमन्त्री वा मन्त्रीहरुको नाम नलिई देउवाको मात्र नाम उल्लेख गर्दै भने, ‘अब बन्ने कांग्रेस नेतृत्वको सरकारले एउटा  शक्तिशाली आयोग बनाएर पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री भएको गगन थापा समेतको सम्पति छानबिन गर्छ, २०४६ पछि एक एक काण्डको छानबिन गर्छ र कारबाही गर्छ र आंफ्नो बाउलाई पनि छोड्दैन’ । सभापति थापाले अब बन्ने कांग्रेसको सरकारले नयाँ कुनै काण्ड नगर्ने र अरुलाई पनि गर्न नदिने दाबी गर्दै त्यसका लागि कानूनी तथा संस्थागत व्यवस्था गर्ने जानकारी दिए । उनले कांग्रेस विधिमा विश्वास गर्ने पार्टी भएकाले मनलाग्दी नगर्ने स्पष्ट पारे ।

मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउनुहुन्न

सभापति थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने पनि बताए । अब हामीसँग सिक्ने र सिकाउने समय छैन, सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्छ । देश एक्लैले बनाउन सकिने र एक्लैले चलाउन सकिने चिज होइन, सबैलाई समेटेर बनाउनु पर्छ, त्यो काम पनि कांग्रेस बाहेक अरुले गर्न सक्दैनन्, त्यसैले कांग्रेसलाई बहुमत दिनुहुन अनुरोध छ ।’ सभापति थापाले कांग्रेस बाहेक अरुले सबैलाई समेटेर लैजान सक्ने अवस्था नरहेको दाबी गर्दै पुराना वा नयाँ सबैलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग मात्रै रहेको उल्लेख गरे ।

कांग्रेसले आगामी चुनाबपछि बन्ने सरकारको प्रधानमन्त्रीको रुपमा प्रस्ताब गरेका थापाले सरकार चलाउने बारेमा आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के के गर्ने भन्ने खाकामा स्पष्ट रहेको जानकारी दिए । ‘सरकारमा गएर मात्रै सिक्ने, योजना बनाउनेहरुलाई दिने भनियो भने देश फेरि पछाडि धकेलिन्छ, सिकेर तम्तयार भएको टिमलाई देश हाँक्ने जिम्मा दिनुपर्छ, त्यस्तो टिम नेपाली कांग्रेससँग मात्रै छ’, उनले भने ।

दुई किसिमका अतिबादबाट सचेत रहन मतदातासंग आग्रह 

उनले फागुन २१ को निर्वाचनले दुई वटा अतिवादलाई पोषित गर्ने खतरा रहेको टिप्पणी गर्दै दुबै किसिमका अतिबादबाट देशलाई जोगाउन मतदाताहरु सचेत बन्नुपर्नेमा समेत जोड दिए  ‘निर्वाचनपछिको अवस्थाले दुइटा किसिमको अतिवादलाई पोषित गर्ने खतरा छ,’ सभापति थापाले भने, ‘एउटा अतिवाद भदौ २३ र २४ घटनाको अवमूल्यन गर्छ र त्यो घटनालाई केवल षडयन्त्र हो भन्छ । त्यहाँ युवाहरूको सहभागिता देख्दैन । त्यहाँ असन्तुष्टि व्यक्त भएको देख्दैन ।’ त्यस्तै प्रकारको अर्को अतिवाद छ । जो मौका छोपेर सिंहदरबार पनि जलाउन लगाउँछ, मौका पर्दा आफै जेलबाट पनि भाग्छ ।’ यी दुवै अतिवाद हिजो देखेको बताउँदै उनले त्यो भोलि पनि आउनसक्ने उनले बताए ।

काठमाडौँको खुला मंचमा प्रस्तावित प्रधानमन्त्रीका उमेदवार बीच बहस गरौँ – उपसभापति शर्मा 

उक्त समारोहमा बोल्दै नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्री घोषणा गरिएकाहरूको बिचमा फागुन १८ गते खुलामञ्चमा बहस गर्न प्रस्ताब गरे । ‘फागुन १८ गते होलीको दिन हो, होलीका दिन सँगै बसेर होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को ५ वर्षे कार्यकालमा गर्नुपर्ने कामका एजेन्डामा बहस गर्ने नेपाली काँग्रेसको तर्फबाट यहि सभा मार्फत प्रस्ताब गर्छु। ‘होलीमा प्रधानमन्त्रीका उम्मेदवारबिच खुला मञ्चमा सार्वजनिक बहस गरौँ भन्ने कांग्रेसको प्रस्तावमा अरू दल राजी हुनुहुन्छ ?’ भनि प्रश्न समेत गरे । उपसभापति शर्माले मुलुकलाई निकास दिने विषयलाई निर्वाचनको बेला बहस विषय बनाउनुपर्नेमा पनि जोड दिए ।

उपसभापति शर्माले सम्बोधनका क्रममा आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताए । उनले चुनावी मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दललाई दुश्मनीको रूपमा लिन नहुनेसमेत बताए । निर्वाचनपछि सबै दलहरूले सत्ता पक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले उनीहरूले निर्वाचनको मैदानमा दुश्मनको व्यवहार गर्न नहुने उनको भनाइ थियो ।

काँग्रेसले देशलाई बदल्न राजनीति बदल्न चाहेको शर्माको भनाई 

उपसभापति शर्माले आँफुहरुले देशलाई बदल्न चाहेको कारण सबभन्दा पहिले राजनीतिलाई बदल्न संकल्प गरिएको स्पष्ट पारे । नेपाली कांग्रेस पार्टीले संकल्प गरेको छ – हामी राजनीतिलाई बदल्न चाहन्छौँ। राजनीतिको शैली बदल्न चाहन्छौँ । संस्कारलाई बदल्न चाहन्छौँ । राजनीतिको यो चुनावको मैदानमा हाम्रो लागि कोही पनि दुश्मन छैनन् । आज हामी जो प्रतिस्पर्धामा छौँ । यी दलहरू भोलि सत्ता र प्रतिपक्षमा सँगसँगै रहेर काम गर्नुछ । त्यसकारण दलहरूको मञ्चबाट गाली होइन, प्रेमलाई संप्रेषण गरौँ । निर्वाचनको मैदान दुश्मनीको अखडा होइन । निर्वाचनको मैदान व्यक्तित्व र प्रतिस्पर्धाको महायज्ञ हो ।’ उपसभापति शर्माले निर्वाचनको मञ्चलाई गाली गर्ने अवसरको रूपमा लिन नहुने बताए ।

सभामा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको साथै कास्कीबाट आसन्न निर्बाचनमा उमेदवार रहेका आईबहादुर गुरुङ, मनोज गुरुङ, माधवप्रसाद बाँस्तोला, तिलक रानाभाट लगायतले आआफ्नो भनाई राखेका थिए। कार्यक्रमका अबसरमा बिभिन्न सांगीतिक कार्यक्रम प्रस्तुत गर्नुको साथै गण्डकी प्रदेशका ११ जिल्लाका १८ निर्बाचन क्षेत्रका कांग्रेस उमेदवारहरुको सक्षिप्त परिचय समेत गराइएको पार्टीका कास्की जिल्ला सहसचिब शंकर ढुंगानाले जानकारी दिए। कास्की कांग्रेसका सचिब भानु ढकाल र सहसचिब नबिन सिग्देलले संचालन गरेको कार्यक्रम पुर्व पोखराको बिभिन्न स्थानबाट कांग्रेस कार्यकर्ता र समर्थकहरु जुलुस सहित सभास्थलमा पुगेका थिए।

तस्बिर – दुर्गा प्रसाद पौडेल/ पोखरा

१५ फाल्गुन २०८२, शुक्रबार २३:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा