पोखरा, फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्बाचनमा सोहि क्षेत्रबाट उमेदवार बनेका छन नेपाली काँग्रेसका मनोज गुरुङ । हिमाली क्षेत्रले जलवायु परिवर्तनबाट भोगेका समस्याबारे उनले प्रत्यक्ष रुपमा भोगका छन । त्यसैले पनि होला, आफ्ना क्षेत्रका नागरिकहरुले भोग्नुपरेको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउने उनको भनाई छ ।
दुई वर्षअघि अर्थात २०८० को कात्तिकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेको सम्झना गर्दै कांग्रेस उमेदवार गुरुङले जलवायु परिवर्तनका कारण परेको असरबारे प्रत्यक्ष बुझ्न संयुक्त राष्ट्रसंघका महासचिव अन्नपूर्ण आधार शिबिर अर्थात एविसी आएपछि विश्वको ध्यान खिच्ने अपेक्षा गरिएकोमा अपेक्षाकृत सन्देश भने प्रवाह हुन नसकेको महसुश गरिएको स्पष्ट पारे ।
‘हाम्रा हिमाल कालापत्थर भैसके । बाल्यकालमा देखेको टल्कने हिउँ अहिले छैन,’ उनी भन्छन्, ‘यो मैले मात्रै होइन, मेरा क्षेत्रका सबै नागरिकले भोगेका छन् । तर, आजसम्म हाम्रो समस्या संसदबाट सुनाइदिने कोही भएनन् ।’ आँफु संसदमा पुगेपछि यस क्षेत्रको विकाससँगै संरक्षणमा ध्यान दिने प्रतिबद्धता जनाउंदै उनले भने ‘विकास अव्यवस्थित छ, सांसदलाई मन लागेको ठाउँमा योजना गएका छन् । आवश्यकता र मागका आधारमा विकास गर्नुपर्छ, विकास गर्दा पर्यावरणलाई विगार्न भएन । संरक्षणसँगै विकासको अवधारणा कार्यान्वयन गनुर्छ । मैले गर्ने त्यही हो ।’

अन्नपूर्ण र माछापुच्छ्रे लगायत क्षेत्रका आसपासमा जलवायु परिवर्तनका कारण केही बसाइ सर्नुपर्ने अवस्थामा छन् । खानेपानीको अभाव बढ्दो छ । नयाँ रोगहरु हिमालकै छेउसम्म पुगेको छ । त्यस क्षेत्रमा यस अगाडी नदेखिएका किरा फट्यांग्रा पनि अहिले देखिन थाले । लामखुट्टे हिमालकै फेदसम्म पुगेका छन, यसको प्रमुख कारण जलवायु परिवर्तन नै त हो । तसर्थ अब गुनासो गरेर बस्ने मात्रै नभएर संसारलाई सुनाउने बेला आएको छ । गुरुङले गुरुकुल खबरसंग भने ।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु कोषमार्फत नेपालले ४० करोड ७१ लाख अमेरिकी डलर (झन्डै ५८ अर्ब रुपैयाँ) सहयोग प्राप्त गरेको भएपनि यस क्षेत्रमा उक्त रकम आइपुगेको छैन । विभिन्न जलवायु कोषमार्फत हालसम्म नेपालले प्राप्त गरेको उक्त रकमबाट ४९ परियोजना सञ्चालनमा छन् । तर, कास्की निर्बाचन क्षेत्र न. ३ मा देखिने गरी कुनै योजना यो कोषबाट संचालन भएको छैन ।
गुरुङले अन्नपूर्ण वा माछापुच्छ्रेको छेउमा अन्तर्राष्ट्रिय ध्यानाकर्षण सम्मेलन गर्ने पनि बताए । ‘जलवायुका क्षेत्रमा काम गर्ने विज्ञहरुलाई हाम्रो क्षेत्रको अनुभव सुनाउनु र देखाउनुछ भन्दै अन्तर्राष्ट्रिय फोरमहरुमा यहाँका समस्याबारे खुलेर राख्नसकुन् भन्ने मान्यता अनुरुप उनीहरुलाई यसै ठाउँमा निम्त्याएर एउटा कार्यक्रम गर्ने प्रतिबद्दता समेत ब्यक्त गरे ।

उनले जलवायु संकटको क्षतिपूर्ति बापत आउने अन्तर्राष्ट्रिय कोषलाई तल्लो तटीय क्षेत्रका किसानसम्म पुर्याउने प्रतिबद्धता जनाउंदै स्थानीयको सहमति र पर्यावरणलाई असर नपर्ने गरी नयाँ पिकहरूमा आरोहण खुल्ला गरी रोयल्टी गाउँमा भित्र्याउने योजना पनि अघि सारेका छन् । कास्की क्षेत्र नम्बर ३ को अधिकांश भुभाग अन्नपूर्ण संरक्षण क्षेत्रले ओगटेको छ । गुरुङले एक्यापको सञ्चालन नियमावली समयसापेक्ष बनाउन पैरवी गर्ने बताएका छन् । संरक्षण क्षेत्रभित्रका व्यवसायलाई वैधानिक बनाउन र करको दायरामा ल्याउन सक्दो प्रयास गर्ने उनको संकल्प छ ।
यसका साथै गुरुङले कृषिलाई पनि जलवायु अनुकल हुने गरी व्यवस्थित गर्ने र त्यसका लागि नलेज कन्फेरेन्स (विज्ञ सम्मेलन ) आफ्नै क्षेत्रमा गर्ने पनि बताए । उनी यतिबेला फागुन २१ गते हुने निर्वाचनमा आंफ्नो पक्षमा मत माग्न पोखरा महानगरका बिभिन्न वडा सहित अन्नपूर्ण र माछापुछ्रे गाउँपालिकामा मतदाताहरु संगको भेटघाटमा केन्द्रित छन । गुरुङलाई भुगोलले चिनेको नेता भन्दै मतदाताले समेत बिजयको शुभकामना दिइरहेका छन् ।
















