पोखरा, यहि फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस कास्कीले पोखराको अमरसिंहचौरमा चुनावीसभा गर्ने भएको छ । आमसभामा नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
चुनाबी सभामा सम्बोधन गर्न पार्टीका सभापति गगन थापा शुक्रबार बिहान पोखरा आउने कार्यक्रम रहेपनि उपसभापति विश्वप्रकाश शर्मा भने बिहिबार साँझ नै पोखरा आउने कार्यक्रम रहेको बुझिएको छ ।
कार्यक्रमबारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले केवल नारामा सीमित नभई परिणाममुखी कार्ययोजना र स्पष्ट दृष्टिकोण जनता सामु प्रस्तुत गर्नको लागि पोखरामा चुनाबी सभाको आयोजना गरिएको बताए ।
उनले बदलिएको सोच, बदलिएको शैली र बदलिएको प्रतिबद्दता मार्फत देश परिबर्तनको अभियानलाई शसक्त बनाउने अठोट कांग्रेसले लिएको भन्दै चुनाबी सभाले बदलिएको कांग्रेसले संस्थागत प्रणालीलाई प्राथमिकता दिने, शुसासन, पारदर्शिता र उत्तरदायित्वलाई ब्यबहारमा लागु गर्ने, युवा शक्ति,उधमशिलता र रोजगारी सृजनालाई केन्द्रमा राख्ने तथा लोकतन्त्रको रक्षा गर्दै आर्थिक समृद्धिको ठोस मार्गचित्र प्रस्तुत गर्ने बताए ।
कास्की जिल्ला सभापति बरालले पार्टीका केन्द्रीय उपसभापति शर्मा बिहिबार साँझ नै हेलिकप्टरबाट पोखरा आउने कार्यक्रम रहेको र सभापति थापा भने शुक्रबार बिहान मात्र पोखरा आउने कार्यक्रम तय भएको गुरुकुल खबरलाई जानकारी दिए ।
चुनाबी सभा ब्यबस्थापन समितिका संयोजक रहेका दीपक गुरुङका अनुसार आमसभामा करिब १५ हजार सर्बसाधारण सहभागि हुनेछन । उनले गाउँगाउँबाट करिब १०० वटा गाडीहरू मार्फत जनप्रतिनिधि र कार्यकर्ता एबम मतदाताहरु आउने सुनाए ।
‘सभामा हामीले गण्डकी प्रदेशकै १८ जना प्रत्यक्षतर्फका उम्मेदवारको एक÷एक मिनेटको चिनारी समेत प्रस्तुत गरिने भएको जानकारी दिंदै कास्की कांग्रेसका सहसचिब नबिन सिग्देलले पोखरामा हुने चुनाबी सभामा सहभागी हुन र कांग्रेसको बिचार सुन्न सबैलाई आग्रह गरे ।















