काठमाडौँ, नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेस प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण सभा भएको हो ।

प्रतिज्ञासभामा बोल्दै नेपाली कांग्रेसका सभापति गगन थापाले ‘टिम नेपाल’ बनाएर ५ वर्षमा कुशासन र गरिबी हटाउने बताए। ‘टिम नेपालले यो ५ वर्ष कुशासन, गरिबीलाई हराउँछ । त्यो एक्लै सम्भव हुँदैन,’ थापाले भने, ‘कांग्रेसले आजको समस्या समाधान गर्छ भोलिको विकास अगाडि बढाउँछ । कांग्रेसको शक्तिले सबैलाई सम्हालेर समेटेर अगाडि बढाउँछ ।’
कांग्रेसको टिम नेपालमा वडादेखि केन्द्रसम्मका सरकार, सबै राजनीतिक दल सहभागी हुने थापाले बताए।थापाले प्रतिज्ञापत्रमा लेखिएका अक्षर सभापतिदेखि क्रियाशील सदस्यले पालना गर्ने बताए। उनले मधेसले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेसले अब परिवर्तन गर्नु पर्ने बताए। उनले मधेसलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेस झरेको बताए।

उनले भने, ‘मधेसको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो। पहाडमा मधेसका शिक्षकले पढाएका हुन्। उनकै शिक्षाले देश शिक्षित भएको छ। तर आज मधेसको शिक्षा, स्वास्थ्य र विनाको अवस्था जर्जर छ, यहाँ किसानहरु र उखु किसानको अवस्था, पर्यावरणको अवस्था भयावह छ। खानेपानीको समस्या समाधान गर्न म मधेस आएको हुँ।’
उनले सिङ्गो देशलाई पाल्न सक्ने तागत सहितको मधेश बनाउने प्रतिज्ञा गरेको बताए। उनले मधेसका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह गर्ने व्यवस्था गर्ने बताए। उनले भने, ‘अब मधेस वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दूतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ।’

काठमाडौँमा पत्रकार सम्मेलन: प्रतिज्ञापत्रको भिजन १० बारे जानकारी
यसैबीच प्रतिज्ञापत्र सार्वजनिक भएको सन्दर्भमा नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उल्लेखित भिजन १० का बुँदाका बारेमा जानकारी गराएको छ । कांग्रेसले आमनिर्वाचनबाट बहुमत सहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ । कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मवोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न सक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले दाबी गरे ।

पत्रकार सम्मलेलनमा उनले प्रतिज्ञा पत्रका हरेक अक्षरका प्रष्ट अर्थ रहेको बताए । प्रतिज्ञा पत्रमा उल्लेखित योजना कार्यान्वयनका आधारमा कार्यसम्पादन मूल्यांकन हुनुपर्ने कांग्रेसको चाहना रहेको उनको भनाइ छ । सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्कने नेपालसम्मको योजना कांग्रेसले अघि सारेको छ ।
प्रतिज्ञापत्र केवल देखाउन मात्रै नभई कार्यान्वयन गरेर समुन्नत नेपाल सम्मानित नेपालीको नारालाई व्यवहारमा ल्याउने प्रतिबद्धता कांग्रेसको छ। ‘नेपाली कांग्रेसले चाहेको यतिमात्र छ कि आगामी दिनहरूमा आम मतदाता र जनताले प्रतिज्ञापत्रको कार्यान्वयनका आधारमा पार्टी, तमाम नेता र कार्यकर्ताको कार्यसम्पादन मूल्यांकन गर्नुहुनेछ’, विज्ञप्तिमा भनिएको छ,‘कांग्रेसले आफ्नो प्रतिज्ञा पूरा गर्न तर,अमूक र अर्मूत कारण देखाएर जिम्मेवारीबाट नभाग्नेसमेत बताएको छ । ‘हामी अमूक र अर्मूत कारण देखाएर कहिल्यै जिम्मेवारीबाट पन्छदैनौँ ।’
नेपाली कांग्रेसको प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ को सार–संक्षेपमा प्रस्तुत गरिएको छ । जसलाई अर्को शब्दाबली कांग्रेसले ‘काँग्रेस टु प्वाइन्ट जिरो’को जगका रूपमा व्यख्या गरेको छ । पुनरुत्थानमा सफल सुरुआत गरेको कांग्रेसले नै जनताबाट इच्छित भविष्य साकार पार्न संकल्प लिएको छ ।
प्रतिज्ञापत्रमा समाबेश गरिएका १० वटा भिजन यसप्रकार छन
१ सम्मानित भएर बाँच्न पाउने नेपाल
२ सपना देख्न सक्ने नेपाल
३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४ पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५ ओखती र ओत दिने नेपाल
६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८ मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल
९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१० समुन्नतिमा लम्किने नेपाल















