पोखरा, कास्की क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेद्वार मनोज गुरुङले जनताका समस्या समाधानका लागि आँफु निरन्तर खटिने बताएका छन्। सोमबार साँझदेखि पोखरा क्षेत्रका मतदाता भेटघाटमा सक्रिय गुरुङले मंगलबार पोखरा–२ का मतदाता समक्ष त्यस्तो प्रतिवद्धता जनाएका हुन् ।
उनले यसअघि अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका केही स्थानबाहेक अन्य क्षेत्रका मतदातासँग भेटघाट गरिसेका छन्। मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा कास्कीका दुई पालिकामा घरदैलो गर्ने क्रममा मतादाताको सकारात्मक प्रतिक्रियाले आफू निकै उत्साहित भएको उनले बताए ।
उनले भने, ‘दुई पालिकाका मतादाता भेटेर भर्खर पोखरा आएको छु । मतदाताको सकारात्मक प्रतिक्रियाले हौसला थपिएको छ, उत्साहित भएको छु ।’ आफ्नो क्षेत्रका करिब ३५ प्रतिशत मात्रै मतदाता भेटघाट गरिसक्दा आँफुलाई उर्जा थपिएको गुरुङले बताए। उनले भने ‘कांग्रेसमा उभार आएको महसूस गरेको छु । यसलाई ब्यालेटमा परिणत गरेर देश बदल्न लाग्नुपर्छ ।’
विगतमा विभिन्न कारणले रिसाएका कांग्रेसीहरू यस पटक खुशी भएको र सबैजना सक्रियता पुर्वक चुनाबमा लागेको उनको बिश्वास छ ।
निर्वाचन प्रचारका लागि मनोज गुरुङ र समानुपातिक तर्फका उम्मेद्वार आइबहादुर गुरुङ अब केही दिन पोखरा क्षेत्रका बिभिन्न वडामा मतदातासंगको भेटघाटमा केन्द्रित हुने भएका छन्।
कास्कीको क्षेत्र न. ३ मा पोखरा महानगरपालिकाका ११ वडाका मतदाता भेटघाट गरेर गुरुङसहितको टोली पुनः अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा पुग्ने कार्यक्रम छ । त्यसपछि केही स्थानमा चुनावी सभा र कोणसभा आयोजना गर्ने तयारी भइरहेको निर्वाचन परिचालन समिति संयोजक युवराज कुँवरले गुरुकुल खबरलाई जानकारी दिए।















