काठमाडौँ, आज महाशिवरात्रि पर्वको अवसरमा काठमाडौँको पशुपति मन्दिरमा दर्शन गर्न करिब ७ लाख दर्शनार्थी आउने अनुमान पशुपति क्षेत्र विकाश कोषले गरेको छ । मन्दिरमा दर्शन गर्न आउनेहरुको संख्या ठुलो हुने भएकोले पशुपति क्षेत्रमा स्थानीय प्रशासनले सुरक्षा योजना बनाएर ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिएका छन । दर्शन गर्न आउने भक्तजनको सुरक्षाको लागि पशुपति मन्दिर परिसरमा प्रहरीले कमान्ड पोस्ट बनाएको छ ।
बालबालिका हराउने, चोरी, डकैती र अन्य उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न कमान्ड पोस्टमा परिसर काठमाडौँका एसपी पवन भट्टराई खटिनेछन् । पशुपति क्षेत्रको सुरक्षामा ३ हजार ७ सय प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ । निर्वाचन प्रहरीलाई पनि सुरक्षामा परिचालन गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी र महानगर प्रहरी सहित करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको एसएसपी थापाले जानकारी दिए । शनिबार पशुपति क्षेत्रमा गएर गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल सहितका अधिकारीहरुले सुरक्षा तयारीबारे जानकारी लिएका थिए ।
पशुपति मन्दिरमा आउने दर्शनार्थीहरुलाई मन्दिर दर्शनमा सुबिधा र सहजता मिलोस भन्ने लक्षका साथ आज शिवरात्रीको दिन बिहानैदेखि मन्दिरका चारवटै ढोका खुल्ला गरिएको बताइएको छ ।














