पोखरा, नेपाल शिक्षक संघ कास्कीको २७ औं प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले पेशागत संगठनले शिक्षकको वृत्ति विकास र क्षमता अभिवृद्धीमा महत्वपुर्ण भुमिका खेल्ने बताउँदै नेपाल शिक्षक संघले आधुनिक शिक्षा र प्रविधि मैत्री शिक्षणमा जोड दिएको बताए ।
शिक्षण पेशामा देखिएका समस्या र चुनौतीहरूलाई समाधान गर्न शिक्षकहरू आपसमा सहकार्य गर्दै अघि बढ्नुपर्ने उनीहरूको सुझाव थियो। देशको संक्रमणकालिन अवस्थामा शिक्षकले समाजलाई सहि मार्गमा निर्देश गर्न सक्ने बताउँदै शिक्षा ऐन मार्फत् देशको शैक्षिक निति र व्यवस्था परिवर्तन गर्नुपर्ने आवश्यकता समेत बक्ताहरुले ओैँल्याए ।
नेपाल शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछानेले प्रजातान्त्रिक मूल्य मान्यता बोकेका व्यक्तिमा निरङ्कुशता नहुने भन्दै आसन्न निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीलाई जिताउन सकेमात्र देशको समग्र शैक्षिक व्यवस्थामा सुधार हुने बताए । सरकार र शिक्षक विचको ९ बुँदे सहमति कार्यान्वयन र शिक्षा नियमावली जारी गर्ने समयमै जेन्जी आन्दोलन हुनु दुर्भाग्य भएको बताउँदै आगामी निर्वाचनले नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार गठन भए शिक्षकका माग पुरा हुने जिकिर गरे ।
कार्यक्रममा नेपाल शिक्षक संघ गण्डकी प्रदेशकी महासचिव टिका भण्डारी न्यौपानेले शिक्षण पेशालाई सम्मानित पेशा बनाउन हरेक शिक्षकले सहि समय र सहि नेतृत्व पहिचान गर्न सक्नुपर्ने बताईन ।
कार्यक्रममा नेपाल शिक्षक महासंघका प्रदेश जिल्ला तथा महानगरका प्रतिनिधिहरू, नेपाल शिक्षक संघका विभिन्न संगठनका प्रतिनिधिहरू, नेपाली काङ्ग्रेस कास्की क्षेत्र नं २ का संसद पदका उम्मेदवार माधव बास्तोला मधु लगायतले आआफ्नो भनाई राखेका थिए । त्यस्तै शिक्षा ज्योति सहकारीका सञ्चालक, विभिन्न विद्यालयका प्रधानाध्यापक, निवर्तमान पदाधिकारीहरू र शिक्षकहरूले पनि आआफ्नो विचार ब्यक्त गर्दै बिभिन्न सुझाब दिएका थिए ।

कार्यक्रममा यस वर्ष निवृत्त भएका कास्की जिल्लाका निवृत्त शिक्षकहरूलाई सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको थियो भने जिल्लाभित्र स्थायी, करार र विद्यालय स्रोतबाट नियुक्त भएका नवप्रवेशी शिक्षकहरूलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट रिजल्ट ल्याउन सफल सामुदायिक विद्यालयमध्ये पोखरा महानगरपालिका अन्तर्गत बालमन्दिर मावि (नदीपुर), श्री शान्त मावि (भकुण्डे ) र कालिका आवि ( मजुवा ) लाई सम्मान गरिएको थियो । त्यस्तै अन्नपूर्ण गाउँपालिकाबाट प्रगतिशील मावि र उल्लेरी आवि, माछापुच्छे गाउँपालिकाबाट उदय मावि तथा सरस्वती आविलाई पनि सम्मान गरिएको थियो ।
यसैगरी मादी गाउँपालिकाबाट सिताराम मावि र चण्डिका आवि त्यसैगरी रुपा गाउँपालिकाबाट शिवालय मावि र रिठूमाला आवि सम्मानित भएका थिए । सम्पुर्ण सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ट अंक सहित शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल शिवशक्ति माविलाई पनि त्यस अबसरमा सम्मान गरिएको थियो ।
नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीको सभापतित्वमा सम्पन्न सभाको सञ्चालन सचिव तारानाथ भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष सीतादेवी भण्डारीले गरेकी थिईन । यसअघि कास्की जिल्लाका पाँचवटै पालिकामा पनि शिक्षक संघले सातौँ प्रतिनिधि सभा सम्पन्न गरिसकेको बताइएको छ ।
- निरु केसीबाट














