पोखरा, निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि प्रचार–प्रसार गर्न समय तोकेको फागुन ४ गते अगाडि नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा मुलुकका सातवटा प्रदेशमा पुग्ने भएका छन् ।
पार्टीका प्रदेशभित्रका जिल्ला सभापति, पार्टीका उम्मेदवार र नेता कार्यकर्तासँग छलफल गर्न सभापति थापा र उपसभापति शर्मा फागुन ४ गतेभित्र सातै प्रदेशमा पुग्ने गरि कार्यक्रम तय भैरहेको नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले जानकारी दिइन् ।
उपसभापति शर्मा निर्वाचन परिचालन समितिका संयोजक हुन् । ‘पार्टीका प्रदेशभित्रका जिल्ला सभापति, उम्मेदवार र नेता कार्यकर्तासँग सम्वाद गर्न र पार्टीको अवस्था पहिचान गर्न सातै प्रदेशमा फागुन ४ गतेभित्र जाँदै हुनुहुन्छ,’ उपसभापति भुसालका अनुसार यो क्रम मधेस प्रदेशबाट सुरु भैसकेको छ ।
यसैक्रममा नेपाली काँग्रेसका सभापति गगन थापा गण्डकी प्रदेश अन्तर्गतको कार्यक्रममा सहभगी हुन माघ २३ गते शुक्रबार पोखरा आउने कार्यक्रम तय भएको छ । शुक्रबार बिहान साढे नौ बजे बिमानबाट पोखरा आएपछि सभापति थापाले नेपाली काँग्रेस कास्कीको कार्यालयमा कार्यकर्ताहरु संग भेटघाट गर्ने भएका छन
त्यसपछि सभापति थापा नेपाली काँग्रेस गण्डकी प्रदेशको बैठक सहित प्रदेश अन्तर्गतका बिभिन्न क्षेत्रका उमेदवारहरु सहित पार्टीका बिभिन्न जिल्लाका नेता कार्यकर्ताहरु संग भेटघाट गरेर पार्टीको अबस्थाको बारेमा जानकारी लिनुको साथै आबश्यक निर्देशन दिने कार्यक्रम तय गरिएको छ
मधेस प्रदेशको सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सभापति थापा माघ १२ गते मधेस पुगेका थिए । उनी माघ १७ गते काठमाडौँ फर्किएका थिए । मधेस बसाइका क्रममा सभापति थापाले प्रदेशभित्र पर्ने जिल्लाका पार्टी सभापति ३२ क्षेत्रका पार्टीका उम्मेदवार तथा नेता कार्यकर्तासँग अन्तरक्रिया गरेका थिए ।
‘सभापतिज्यूले केही दिनअघि मधेस प्रदेशमा आठ वटै जिल्लाका नेतृत्व र उम्मेदवारहरूसँग बसेर निर्वाचनको तयारीबारे संवाद गर्नुभयो । गण्डकी प्रदेशमा पार्टीको अवस्थाबारे शुक्रबार सभापति थापाले छलफल गर्दै हुनुहुन्छ,’ उपसभापति भुसालले भनिन् ।
पोखरामा दिनभर रहंदा सभापति थापाले पार्टीका उम्मेदवारहरु, जिल्ला सभापति तथा नेता कार्यकर्तासँग संवाद गर्ने भएको पार्टीको गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गुरुकुल खबरलाई जानकारी दिए ।















