पोखरा, पोखरामा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी नेपालको टिम लिग चरणबाटै बाहिरिएको छ । पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा बुधबार भएको लिग चरणको अन्तिम खेलमा नेपालको टोलि बङ्गलादेशसँग सुन्यका बिरुद्ध चार गोलले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
नेपाललाई निरास पार्ने क्रममा बङ्गलादेशले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । बङ्गलादेशलाई जित दिलाउन अल्पी अख्तरले ह्याट्रिक गरिन् । खेल सुरु भएको तेस्रो मिनेटमै प्रोतिमा मुण्डाको गोलमार्फत अग्रता बनाएकोमा पहिलो हाफको इन्जुरी समयमा अक्तरले अग्रता दोब्बर पारिन् ।
नेपाल पहिलो हाफमा दुई गोलले पछि परेपछि दोस्रो हाफमा खेलमा फर्कन सङ्घर्ष गरिरहेको थियो । खेलको ६७औँ मिनेट र ८२ औँ मिनेटमा अख्तरले गोल गरेपछि बङ्गलादेश फाइनलमा पुग्न सफल भयो । लिगका तीनवटै खेल जितेर शीर्ष स्थानमा रहन सफल भएको बङ्गलादेशले अब प्रतियोगिताको उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
भारतले बुधबार सम्पन्न लिगचरणको पहिलो खेलमा भुटानलाई सुन्यका बिरुद्ध आठ गोलले हराएको थियो । प्रतियोगितामा दुई जित र एक हार व्यहोरेको भारत ६ अङ्क जोडेर फाइनलमा पुग्न सफल भएको हो । लिग चरणका शीर्ष दुई टोली भारत र बङ्गलादेशकाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको दुई खेलमा हार र एउटामा जित निकालेको नेपालले तीन अङ्क जोड्दा भुटानले भने कुनै पनि अङ्क जोड्न सकेन ।
















