काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर बुधबार (आज) स्वदेश फर्किएका छन् । जापानबाट नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उक्त अबसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार त्यस तर्फ प्रस्थान गरेका थिए। नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन उनि जापान पुगेका हुन ।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयाेजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भए । उनले सो समारोहलाई सम्बोधन गरे । यसैगरी राष्ट्रपति पाैडेलले नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै आगामी दिनमा जापानमा रहंदा नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना साकार पार्न थप योगदान दिने बिश्वास व्यक्त गरे
उनले जापानमा विभिन्न पेशा र क्रियाकलापमा आवद्ध नेपाली समुदायको हित, चासो र सरोकारलाई सम्बोधन गर्न र आईपरेका समस्याको समाधान गर्न नेपाल सरकार प्रतिवद्धरहेको बताउंदै नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अङ्गिकार गरेसँगै मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने मार्गमा उच्च गतिका साथ अघि बढाउन आवश्यक रहेको समेत बताए ।

नेपाल र जापानबीच गौतम बुद्धको शिक्षाबाट प्रेरित गहिरो सामाजिक–सांस्कृतिक सम्बन्ध रहिआएको र बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल प्रतिको आकर्षणलाई बढाएको उनले उल्लेख गरे । “सांस्कृतिक, धार्मिक र पर्यटकीय उद्देश्यले नेपाल भ्रमणका लागि जापानी पर्यटकको सङ्ख्यामा अझ वृद्धि गराउन अनौपचारिक राजदूतको रुपमा तपाईहरूको महत्वपूर्ण भूमिका रहने छ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने।
यस्तै, राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरे। उनीसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गरे । भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र यहाँ रहेको नेपालीहरूको कार्यक्रमलाई पनि उहाँले सम्बोधन गरे । उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गरे ।
नेपाल जापानबिच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।















