पाेखरा, नेकपा माओबादी र एकीकृत समाजबादी सहितका दलहरु मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कास्की जिल्लामा पनि आंफ्नो चुनाबी गतिबिधि अगाडी बढाएको छ। पार्टीको तर्फबाट कास्की -१ मा राजकाजी गुरुङ करण, कास्की -२ मा हेमबहादुर थापा किरण र कास्की -३ मा गोपाल गिरि उमेदवार बनेका छन ।
यसैक्रममा कास्की क्षेत्र नम्बर १ मा नेकपाले निर्वाचन सम्पर्क कार्यालय खोलेको छ । नेकपाबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण) लगायतका उम्मेदवारहरुको चुनाबी प्रचारमा तिब्रता दिन निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
नेकपा नेता श्रीनाथ बरालले सम्पर्क कार्यालयको उद्घाटन गर्दै देशलाई विनास हुनबाट जोगाउन नेकपालाई जिताउनुपर्ने बताए । पुराना शक्तिहरु नेपाली कांग्रेस र नेकपा एमालेका कारण देश भयावह स्थितिमा पुगेको दाबी गर्दै उनले नयाँले मुलुक सम्हाल्ने स्थिति नरहेको र पुराना निकम्मा बनेकोले नेकपा नै मुलुक चलाउन उपयुक्त दल रहेको दाबि गरे।

उक्त समारोहमा बोल्दै कास्की क्षेत्र १ का उम्मेदवार राजकाजी गुरुङले देशको निकास र विकासका लागि नेकपाले जित्न आवश्यक रहेको बताए । कास्की क्षेत्र नम्बर १ को विकासमा विगतदेखि वर्तमानसम्म नेकपाका नेताहरुको भूमिका रहेको भन्दै उनले हिजो देव गुरुङदेखि कृष्णबहादुर गुरुङसम्म, दीपक कोइरालादेखि गायत्री गुरुङसम्मले यस क्षेत्रको विकासमा योगदान दिएको र वर्षमान पुन अर्थमन्त्री भएका बेला राजनीतिक सल्लाहकारका रुपमा बस्दा कास्की -१ मा ३५ करोड भन्दा बढीका योजना आंफ्नो प्रयासमा राखेको जानकारी गराए ।’ उनले विकासको विरासत धान्न पनि कास्की क्षेत्र नम्बर १ नेकपाले जित्नुपर्नेमा जोड दिए ।
नेकपा गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले देश बनाउने एकमात्र पार्टी नेकपा भएको विचार राखिन् । नेकपा केन्द्रीय सदस्य दीपक कोइरालाले विकास र समृद्धिको बाहक नेकपा भएकाले तारा चिह्नमा मतदान गरेर गर्न आग्र हगरे । कास्की १ का नेकपाका चुनावी कमान्डर सोमती गुरुङले नेकपाको नीतिमा देश अगाडि बढिरहेकाले नेतृत्व पनि नेकपाले गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य पूर्ण लामा र कल्पना पाण्डेले पनि बोलेका थिए ।
यसैगरी नेकपा कास्कीले क्षेत्र नम्बर २ मा पर्ने पोखरा ३३ बागमारामा पनि शनिबार सम्पर्क कार्यालय स्थापना गरेको छ । फागुन २१ को निर्वाचन केन्द्रीत गतिविधिलाई सहज बनाउन कार्यालय खोलिएको हो । चुनावी तयारी स्वरुप नेकपाले पोखरा- २० मा बैठक आयोजना गरेको र त्यस कार्यक्रममा नेकपाबाट कास्की -२ का उमेदवार हेमबहादुर थापा किरणले भूमीहीनहरु सहित अन्य मतदातासंग भेटघाट गरेका थिए ।
कार्यक्रममा नेकपा नेता श्रीनाथ बरालले नेकपा लोकतन्त्र, कम्युनिष्ट आन्दोलन र राष्ट्रियताको मूलधार भएको बताए । उनले भने, ‘यहाँ सशस्त्र युद्धबाट आएको पार्टी र शान्तिपूर्ण राजनीतिबाट आएका सबै छौँ, हामी अबको नेपालको नेतृत्व गर्ने ल्याकत राख्छौं ।’
कार्यक्रममा कास्की २ का नेकपा उम्मेदवार किरण थापाले संकटमोचनका लागि भएको निर्वाचनबाट जनताले उचित नेतृत्व छान्ने विश्वास व्यक्त गरे । ‘पुरानाहरुको दुई तिहाइको दम्भले ठूलो विनाश भयो, नयाँ हुँ भनी दाबी गर्नेहरु ठगी आरोपमा मुछिएका छन्, सुकुम्बासी बस्तीमा डोजर चलाइरहेका छन्,’ उनले भने, ‘यो नयाँ हावाले पनि देशलाई निकास दिँदैन । नेकपासँग मात्र छ अहिलेको समस्याको समाधान ।’ कार्यक्रममा नेकपा नेताहरु नेत्रनाथ अधिकारी, खड्ग हमाल, समानुपातिक उम्मेदवार ज्ञानु आचार्यले पनि बोलेका थिए ।
यसैगरी नेकपाबाट कास्की – ३ का उम्मेदवार गोपाल गिरी शनिबार बिहान अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ र ५ मा पुगेर मतदातासंग भेटघाट गरेका छन ।नेकपाले कास्की क्षेत्र नम्बर ३ मा पर्ने पोखरा महानगरका ११ वडाका अगुवा कार्यकर्ता भेला र उम्मेदवार परिचय कार्यक्रम समेत सम्पन्न गरेको छ । भेलामा उम्मेदवार गिरीले आफ्ना योजना र पार्टीको कार्ययोजनाबारे प्रकाश पार्दै नेकपाको जितबाट मात्रै मुलुकले निकास पाउने जिकिर गरे ।















