पोखरा, पोखरा महानगरपालिका वडा नम्बर- २९ भण्डारढिक स्थित लेखनाथ रङ्गशालामा जारी आदर्श कप फुटबल प्रतियोगितामा तनहुँ फुटबल संघलाई सुन्यको बिरुद्ध एक गोलले पराजित गर्दै गण्डकी प्रदेश प्रहरीको टोलि पहिलोपटक उपाधिको नजिक पुगेको छ।
प्रहरीको जितमा बिबेक गुरूङले एकमात्र निर्णायक गोल गरेका थिए। गुरुङले खेलको ३३ औ मिनेटमा हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। त्यसपश्चात बाँकी समय दुबै टोलीबाट थप गोल हुन नसक्दा उक्त गोल नै निर्णायक हुन पुगेको हो । साथै उक्त खेलको म्यान अफ दी म्याच प्रहरीका मिडफिल्डर रोजल दाहाल बनेर नगद रु. पांच हजार सहित ट्रफि प्राप्त गर्न सफल भए।
आदर्श युथ क्लबले आयोजना गरेको २६ औँ आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम सेमिफाइनल खेल होराइजन क्लब वालिङ स्याङ्जा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको बिचमा बुधबार दिउँसो लेखनाथ रङ्गशालामा हुनेछ । मोफसलका चिरपरिचित आठ टोलीहरुको सहभागी भएको उक्त प्रतियोगिताको बिजेताले नगद रु. ४ लाख ९९ हजार ९९९ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले नगद रु.३ लाख ३३ हजार ३३३ रुपैया प्राप्त गर्नेछ।
अन्य विधातर्फको उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैया प्राप्त गर्नेछन भने प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडीले २५ हजार रुपैया प्राप्त गर्नेछ। उक्त प्रतियोगिताको समापन माघ १६ गते हुने आयोजक कमिटीले जानकारी दिएको छ।















