पोखरा, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्बाचनमा नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र न. १ मा नेपाली काँग्रेसको तर्फबाट उमेदवार बनेको छन ‘तिलक रानाभाट’। अधिकांश समय काठमाडौमा बसोबास गर्ने रानाभाट लामो समयदेखि बैदेशिक रोजगार ब्यबसायको साथै नेपाली काँग्रेसको राजनीतिमा पनि निरन्तर क्रियाशील छन । रानाभाट यस अगाडी तीन पटकसम्म नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि भैसकेका छन। २०७१ सालमा नेपाली कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठान सदस्य र २०७४ सालमा केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिनिधिका रूपमा म्याग्दी जिल्लामा खटिएका रानाभाट नेपाली काँग्रेसको अर्थ समितिको सदस्यको रुपमा समेत काम गरिसकेका व्यक्ति हुन ।
अघिल्लो पुषको अन्तिममा मायामा काठमाडौँमा सम्पन्न बिशेष महाधिबेशनबाट नेपाली काँग्रेसको केन्द्रीय सदस्य समेत बनेका रानाभाटलाई संसदीय फाँटको राजनीति गर्ने चाहना केहि बर्ष देखि बढेको थियो। यसै क्रममा २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवारको सूचीमा परेका रानाभाट त्यसबेला सांसद हुन भने पाएनन । अघिल्लो बर्ष पनि रानाभाटले संसदीय चुनाबको लागि सोहि क्षेत्रबाट टिकट लिएको चर्चासंगै अन्तिममा टिकट खोसिएको चर्चा समेत चलेको थियो किनकि अन्तिम अबस्थामा कास्की क्षेत्र न. १ को टिकट कास्की कांग्रेसका सभापति रहेका किशोरदत्त बरालले हात पारेका थिए।
पार्टीको अधिबेशनताका पार्टी कार्यकर्तामाझ आँफु सभापति रहंदासम्म पब्लिक चुनाब नलड्ने प्रतिबद्दता गरेका बरालले त्यस क्षेत्रबाट टिकट लिएपछि भने उनीप्रति पार्टीका नेता कार्यकर्ताहरुमाझ असन्तुष्टि समेत बढेको थियो । जसका कारण बराल वा नेपाली काँग्रेसको पक्षमा अघिल्लो चुनाबको नतिजा आउन सकेन। बरु कांग्रेस भित्रको आन्तरिक द्वन्द झनै बढेर गयो सभापति बरालले आँफुलाई असहयोग गरेको भन्दै पुर्व जिल्ला सभापति कृष्ण केसी समेतलाई कारबाही गर्नुपर्ने माग गरेपछि पार्टीको केन्द्रीय समितिले केसीलाई ३ महिनाको लागि निलम्बनको कारबाही गरेको थियो।
हालै सम्पन्न बिशेष महाधिबेशनमा भने पुर्व सभापति केसी र बराल सहित कास्कीका अधिकांश नेता र त्यसमा पनि कास्की क्षेत्र न.१ का अधिकांश नेता गगन थापाको समुहमा देखा परे। फलस्वरूप कास्की कांग्रेसका पुर्व सभापति केसी पनि बिशेष महाधिबेशनबाट केन्द्रीय सदस्य बन्ने मौका पाए। यो संगै केसीले त्यस क्षेत्रको टिकट पाउने अनुमान बढिरहेको बेला सोहि बिशेष महाधिबेशनबाट केन्द्रिय सदस्य बनेका रानाभाटले कास्की १ को प्रतिनिधि सभा सदस्यको उमेदवारको टिकट हात पारेका छन।

कतिपयले केसीको जनाधार राम्रो भएकोले केसीलाई टिकट दिनुपर्ने बताएको भएपनि पार्टी भित्रको आन्तरिक राजनीतिमा केसीको नाममा बिबाद भएको र रानाभाट बिबादमा नपरेको कारण टिकट मिलेको बताइन्छ । यसका साथै रानाभाटले बिशेष महाधिबेशनबाट निर्बाचित कांग्रेस सभापति गगन थापाको निजि सचिबालयको लागि काठमाडौँ अनामनगरस्थित भवनमा बिगत केहि महिना अगाडी देखि नै कार्यालय उपलब्ध गराएको कारण पनि उनि गगनसंग नजिक बनेर टिकट लिन सफल भएको चर्चा पार्टी भित्र र बाहिर पनि चल्ने गरेको छ।
हुन त, उनि २०४२ सालदेखि विद्यार्थी राजनीतिसँग जोडिएका र आर्थिक सुधार र शिक्षित तथा स्वस्थ नागरिक निर्माणको एजेन्डा लिएर बिगत देखि नै आंफ्नो क्षेत्रमा क्रियाशील रहँदै आएका छन । मादी गाउँपालिका वडा नम्बर ३ तारकाङमा २०२४ सालमा जन्मिएका रानाभाटले कानुनमा स्नातक (बिएल) गरेका छन् । परिवारका ६ दाजुभाई मध्येका कान्छा छोरा रानाभाटका तिन दिदी बैनी छन।‘स्कुल पढ्दादेखि नै राजनीतिमा होमिएको हुँ, पञ्चालयको बेला थियो, सत्ताको विरोध गर्दा जिउज्यान तलमाथि हुन्थ्यो, त्यो बेला हामीहरु क्याम्पस क्याम्पस पुगेर संगठन बनाउने काम गर्यौं,’ रानाभाटको भनाई छ।

नेपाली काँग्रेसको राजनीतिसंगै वैदेशिक रोजगार व्यवसायीका रुपमा उनीसँग लामो अनुभव छ । २०६३ माघमा नेपाली काँग्रेस निकट बैदेशिक रोजगार ब्यबसायीहरुलाई संगठित गरेर उनि समेतको पहलमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको स्थापना गरिएको थियो उनि त्यस संस्थाको संस्थापक अध्य्क्ष समेत हुन । लामो समयदेखि वैदेशिक रोजगारी ब्यबसायलाई सुरक्षित र मर्यादित बनाउन सक्रिय रहेको बताउने रानाभाटले २०६५ सालमा बैदेशिक रोजगार ब्यबसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको केन्द्रीय अध्यक्ष बनेर श्रमिक र व्यवसायी दुवैको हकहितका लागि पनि काम गरेका थिए ।
रानाभाटसंग केहि महिना स्कुलमा पढाएको मात्र नभएर २०४६ देखी २०४९ कानुन ब्यबसायीको रुपमा काम (वकालत) गरेको पनि अनुभव छ। २०५१ देखी २०५३ सम्म पुनरावेदन अदालत पाटनमा कानुन अधिकृतको रुपमा समेत काम गरेका रानाभाटले केहि संस्थामा आर्थिक परामर्शदाताको रुपमा पनि काम गरेका थिए। पछिल्लो समय वैदेशीक रोजगार व्यावसाय, नेप्कोक्याप गार्मेन्ट प्रालि, नूरहिल इन्भेस्टमेन्ट प्रालि, क्यापिटल मर्चेन्ट फाइनान्स जस्ता ब्यबसायिक र वित्तीय संस्थामा उनि संलग्न छन। उनले अमेरिका र युरोपसहित बिभिन्न २९ वटा देशको भ्रमण गरिसकेका छन।















