पोखरा, आगामी फागुन २१ गते हुने निर्बाचनका क्रममा स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा ६ जना स्वतन्त्र र बिभिन्न १२ वटा राजनीतिक दलका उम्मेदवारहरू गरि २८ जना चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन। जिल्लाका दुई निर्बाचन क्षेत्र मध्ये १ नम्बरबाट १३ जना र २ नम्बरबाट १५ जनाले उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीबाट शैलेन्द्र घिमिरे, नेपाली कांग्रेसबाट भरतराज ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. धनञ्जय रेग्मी, नेशनल रिपब्लिक नेपालबाट अर्जुनकुमार गुरुङ र नेकपा एमालेबाट मीनप्रसाद गुरुङ उम्मेदवार बनेका छन् । यस्तै, मंगोल नेशनल अर्गनाइजेसनबाट यमबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हुकुमबहादुर राना र उज्यालो नेपाल पार्टीबाट रवीन्द्र मल्ल चुनावी प्रतिस्पर्धामा छन् । नेकपा माओवादी केन्द्रबाट सोमबहादुर परियार, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रणबहादुर विक र श्रम संस्कृति पार्टीबाट पिरन गुरुङले पनि मनोनयन दर्ता गराएका छन् । यस क्षेत्रमा अशोक विष्ट र मनोज नेपाली दर्जीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट हरिदेव थापा, नेपाली कम्युनिष्ट पार्टीबाट पदमबहादुर विक, नेपाली कांग्रेसबाट भागवत प्रकाश मल्ल र जय मातृभूमि पार्टीबाट धनबहादुर थापा उम्मेदवार बनेका छन् । नेशनल रिपब्लिक नेपालबाट तेजबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेसनबाट खर्कबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र गैह्रे, राप्रपाबाट रविन पाठक र एमालेबाट खिमबहादुर थापाले पनि मनोनयन दर्ता गरेका छन् । रास्वपाबाट झविलाल डुम्रे र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट टीकाराम रेग्मी चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा दिलीप श्रेष्ठ, खिमबहादुर क्षेत्री, घनश्याम पाण्डे र सागर थापा मगरले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उमेदवारी दर्ता गर्न प्रमुख राजनीतिक दलका नेता र कार्यकर्ताहरु बाजागाजासहित निर्वाचन कार्यालय पुगेका थिए भने साना दल र स्वतन्त्र उम्मेदवारहरू सामान्य रूपमा मनोनयन दर्ता गर्न पुगेका थिए । यसपटकको निर्वाचनमा नया दलको रुपमा रहेका उज्यालो नेपाल र श्रम संस्कृति पार्टीले पनि प्रतिस्पर्धा गर्दै छन ।















