काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका ३ हजार ४८७ उम्मेदवारमध्ये ५ जना विरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरूमध्ये ४ जिल्लाका ५ जना विरुद्ध योग्यता सम्बन्धी प्रश्न उठाउँदै उजुरी दर्ता गरिएको हो । उजुरी पर्नेमा सुनसरी, रौतहट, भक्तपुर र कैलालीका उम्मेदवारहरू रहेका छन् ।
सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ बाट १ जना, रौतहटको क्षेत्र नम्बर १ बाट १ जना, भक्तपुरको क्षेत्र नम्बर २ बाट २ जना र कैलालीको क्षेत्र नम्बर १ का १ जना उम्मेदवार विरुद्ध उजुरी परेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । देशभरका निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियो । सोही अवधिमा ५ वटा उजुरी दर्ता भएको विवरण आयोगमा प्राप्त भएको उनले जानकारी दिए ।
सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतहरूले प्रतिनिधिसभा निर्वाचन निर्देशिका २०८२ को अनुसूची १६ बमोजिम यी उजुरीहरू दर्ता गरेका हुन् । आयोगका अनुसार निर्देशिकाको अनुसूची १७ बमोजिम दर्ता किताबमा चढाएर उजुरीकर्तालाई अनुसूची १८ अनुसारको भर्पाई समेत उपलब्ध गराइएको छ । उजुरी परेका उम्मेदवारहरूको विवरण अनुसूची १९ बमोजिम तयार गरी सम्बन्धित कार्यालयहरूमा प्रकाशन गरिएको छ । यस्ता उम्मेदवारहरूले तोकिएको समयभित्र प्रमाण सहित उपस्थित भएर आफ्नो योग्यता पुष्टि गर्नुपर्ने कानुनी व्यवस्था छ । सूचना प्रकाशन भएपछि सम्बन्धित पक्षले जानकारी पाएको मानिने छ ।
आयोगले बुधबार दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र परेका उजुरीहरू उपर जाँचबुझ गरी निर्णय गर्ने तालिका तय गरेको छ । माघ ८ गते बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गरिने छ । यदि कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी ४ देखि ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
आयोगमा हालसम्म दर्ता भएका ३ हजार ४८७ उम्मेदवारहरूमध्ये पुरुषको संख्या ३ हजार ८९ र महिलाको संख्या ३९६ रहेको छ । त्यसै गरी तेस्रो लिंगी १ जनाले पनि उम्मेदवारी दर्ता गराएका छन् । आयोगले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन उम्मेदवारहरूको योग्यताको सूक्ष्म अध्ययन भइरहेको बताएको छ । फागुन २१ को निर्वाचनका लागि आयोगले आफ्नो तयारीलाई तीव्र पारेको छ ।
देशभरका सबै निर्बाचन क्षेत्रमा उमेदवारी दर्ता गराएका उमेदवारहरुको नामावली सहितको विवरण हेर्न तल क्लिक गर्नुहोस ..















