काठमाडौँ, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार भएको प्रत्यक्षतर्फको उम्मेदवारी दर्तामा नेपाली कांग्रेसमा केही फरक दृश्य देखिएको छ। लामो समयदेखि पार्टीका तर्फबाट उम्मेदवार बनेर लड्दै आएकाहरूको स्थानमा सभापति गगन थापाले नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन्। वि.सं. २०४६ सालको जनआन्दोलन सफल भएपछि निर्वाचन लड्दै र निर्वाचित हुँदै आएका कांग्रेसका पुराना नेताहरूको स्थानमा टिकट पाएका नयाँ उम्मेदवारले विरासत कायम राख्न सक्छन् कि सक्दैनन्, त्यो भने नतिजाले देखाउनेछ।
यहाँ हामीले कांग्रेसका चारभन्दा बढी निर्वाचनमा उम्मेदवार भएका नेताहरू निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, डा. शशांक कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, रमेश लेखक र हृदयराम थानीको निर्वाचन क्षेत्रबारे चर्चा गर्नेछौँ।
१) शेरबहादुर देउवा (डडेलधुरा)
२०४८ सालमा भएको प्रतिनिधिसभा निर्वाचनपछि अहिलेसम्म नेपाली कांग्रेस पराजित नभएको जिल्ला हो– डडेलधुरा। त्यहाँ ०४८ सालदेखि २०७९ सालसम्म भएका निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका देउवाले सबै निर्वाचन जिते। देउवा २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा लगातार विजयी भए। प्रतिस्पर्धी दलहरूले फरक–फरक उम्मेदवार बनाएर हराउने रणनीति बनाउँदा पनि देउवाको विरासत ढाल्न सकेनन्। ०४८ मा देउवाले एमालेका गोविन्दप्रसाद कलौनीलाई पराजित गरे। ०५१ को मध्यावधि निर्वाचनमा नेपाल जनवादी मोर्चाका खेमराज भट्ट (मायालु) लाई हराए। ०५६ को निर्वाचनमा एमालेका बागेश्वरीदत्त चटौत र ०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका खगराज भट्टलाई पराजित गरे।
०७० को दोस्रो संविधानसभा निर्वाचन र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनले माओवादीका खगराज भट्टलाई नै पराजित गरे। देउवाले ०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार सागर ढकाललाई हराए। २०६४ सालको माओवादीको लहर होस् वा २०७४ को वाम गठबन्धनको रापताप, कसैले पनि देउवाको विरासत भत्काउन सकेनन्। डडेलधुराबाट जितेर देउवा ५ पटक प्रधानमन्त्री र एक पटक गृहमन्त्री बने। तर, अहिले उम्मेदवारी दर्ताको अघिल्लो दिन सोमबार मध्यराति देउवाले निर्वाचन नलड्ने घोषणा गरे। उनको स्थानमा कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। उनी कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन्।
नयाँ उम्मेदवार महरले अग्रजहरूले पुर्याएको योगदानलाई संरक्षित गर्दै थप योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘इतिहासमा डडेलधुरामा नेपाली कांग्रेसका तर्फबाट द्वारिकादेवी ठकुरानी, संस्थापक एनडीप्रकाश चटौत, किसान नेता भीमदत्त पन्तदेखि शेरबहादुर देउवासम्मले विकास, राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई संरक्षित गर्दै थप योगदान दिने मेरो लक्ष्य हो,’ महरले रातोपाटीसँग भने, ‘नागरिकमा नयाँ चेतना आएको छ। उनीहरू आफ्नो अधिकारमा पहुँच बढाउन चाहन्छन्। त्यसमाथि टेकेर जिल्लाका जनताले ‘जेनजी’ आन्दोलनपछिको परिवर्तनमा सच्चरित्र भएका नेता खोजेका छन्। त्यसमा म योग्य छु भन्ने लागेको छ। म अहिलेसम्म राजकीय पदमा बसेको छैन, ममाथि कुनै प्रश्न उठेको छैन। यसले मलाई मत आउँछ भन्ने अपेक्षा राखेको छु।’
२) पूर्णबहादुर खड्का (सुर्खेत–१)
पुस २७ देखि ३० गतेसम्म कांग्रेसको विशेष महाधिवेशन नहुँदासम्म कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेका खड्का २०४८ सालदेखि नै सुर्खेतबाट प्रतिनिधिसभामा उम्मेदवार हुँदै आएका थिए। २०४८ सालदेखि निरन्तर सांसद बन्दै आएका खड्काले २०७४ सालको निर्वाचनमा भने पराजय भोगेका थिए। २०७४ मा वाम गठबन्धनका एमाले उम्मेदवार ध्रुवकुमार शाहीसँग उनी पराजित भए। शाहीले २०४८ सालदेखिको खड्काको संसदीय यात्रामा ‘ब्रेक’ लगाइदिएका थिए।
लगातार पाँचपटक सांसद भएका खड्काले २०७९ को निर्वाचनमा ‘कमब्याक’ गरे। २०७४ मा आफूलाई हराएका एमाले नेता शाहीलाई नै हराएर उनी विजयी बने। खड्का २०४८, २०५१ र २०५६ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए। २०६४ मा समानुपातिक प्रणालीमार्फत र २०७० मा प्रत्यक्षतर्फ निर्वाचित भए। अहिले विशेष महाधिवेशनपछि देखापरेको विवादका कारण उनले उम्मेदवार नबन्ने घोषणा गरे। उनको स्थानमा उनकै सिफारिसमा भाइ विष्णुबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवार परिवर्तन भए पनि सुर्खेतमा विरासत जोगिने कांग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरेल बताउँछन्। उनले भने, ‘हाम्रो दुवै क्षेत्रमा नयाँ उम्मेदवार हुनुहुन्छ। क्षेत्र नम्बर १ मा पूर्णबहादुर खड्काको स्थानमा विष्णुबहादुर खड्का र क्षेत्र नम्बर २ मा हृदयराम थानीको स्थानमा नारायण कोइराला आउनुभएको छ। उहाँहरूले पुरानो विरासत जोगाउनुहुन्छ। कुनै पनि पार्टीको कसैसँग गठबन्धन छैन। हाम्रो संगठन एकताबद्ध छ र जनमत हाम्रो पक्षमा छ।’
३) प्रकाशमान सिंह (काठमाडौँ–१)
गणेशमान सिंहका पुत्र प्रकाशमानले पनि २०४८ सालदेखि नै संसद् छिर्ने प्रयास गरेका थिए। सुरुका दुई निर्वाचनमा पराजित भए पनि पछि उनी एक कार्यकाल राष्ट्रियसभा र ३ कार्यकाल प्रतिनिधिसभा सदस्य भए। सिंह २०४८ मा एमालेकी सहाना प्रधानसँग र २०५१ मा एमालेकै मनमोहन अधिकारीसँग पराजित भए। त्यसपछि २०५३ सालमा राष्ट्रियसभा सदस्य बने। २०६४ सालबाट काठमाडौँ–१ बाट चुनाव लड्न सुरु गरेका उनी २०६४, २०७०, २०७४ र २०७९ गरी ४ पटक प्रत्यक्ष निर्वाचित भए। २०६४ मा एमालेका प्रदीप नेपाल, २०७० मा माओवादी अध्यक्ष प्रचण्डपुत्री रेनु दाहाल, २०७४ र २०७९ मा विवेकशील साझा र पछि राप्रपाबाट उम्मेदवार बनेका रवीन्द्र मिश्रलाई हराएर उनले संसदीय यात्रा तय गरे।
अहिले उनको स्थानमा कांग्रेसका तर्फबाट प्रबल थापा उम्मेदवार बनेका छन्। यो क्षेत्रमा अन्य पार्टीबाट बलिया उम्मेदवार रहेकाले विरासत जोगाउन कठिन रहेको कतिपयको विश्लेषण छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट रञ्जु दर्शना, राप्रपाबाट रवीन्द्र मिश्र, एमालेबाट मोहन रेग्मी र नेकपाबाट मेनुका भण्डारी प्रतिस्पर्धामा छन्। यद्यपि, कांग्रेसबाटै प्रदेशसभा सदस्य जितेका सुरजचन्द्र लामिछाने भने विदेशमा पढेर फर्किएका युवालाई उम्मेदवार बनाइएकाले विरासत जोगिने बताउँछन्। ‘पार्टीभित्र काम गरेका, बानेश्वरमै जन्मिएका र प्रखर वक्ता हुन् प्रबल,’ लामिछानेले भने, ‘अस्ट्रेलिया पढेर नेपालमा केही गरौँ भनेर आएका युवा भएकाले विरासत जोगिनुपर्छ।’
४) डा. शशांक कोइराला (नवलपुर–१)
बीपी पुत्र डा. शशांक कोइरालाले २०६४ सालबाट संसदीय यात्रा सुरु गरेका थिए। उनी प्रत्यक्ष उम्मेदवार बनेका ४ वटै निर्वाचनमा विजयी भए। साविकको नवलपरासी र हालको नवलपुर–१ बाट २०६४, २०७०, २०७४ र २०७९ सालमा उनी निर्वाचित भए। उनले दुईपटक माओवादी र दुईपटक एमाले उम्मेदवारलाई पराजित गरे। अहिले डा. कोइराला उम्मेदवार बनेका छैनन्। उनको क्षेत्रमा बालकृष्ण घिमिरे र गजेन्द्रबहादुर आले दुवैले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला सभापति महेन्द्रध्वज जीसीले आन्तरिक विषय मिलाउने प्रयास भइरहेको र नतिजा पार्टीको पक्षमा आउने बताए। ‘आन्तरिक कुरा मिलाएपछि नतिजा सकारात्मक आउनेमा हामी ढुक्क छौँ,’ उनले भने। नयाँ उम्मेदवारले फरक पार्छ कि भन्ने प्रश्नमा उनले भने, ‘नपर्नुपर्ने हो।’
५) बलबहादुर केसी (सोलुखुम्बु)
सोलुखुम्बुका बलबहादुर केसी कांग्रेसका तर्फबाट ७ पटक निर्वाचन लडे। २०४८ देखि २०७९ सम्म लड्दा उनी ४ पटक विजयी र ३ पटक पराजित भए। पटक–पटक मन्त्री बनेका केसी २०४८, २०५१, २०५६ र २०७० मा विजयी भए भने २०६४, २०७४ र २०७९ सालमा पराजित भए।केसीले ०४८ मा एमाले उम्मेदवार झलक शेर्पा, ०५१ मा राप्रपाका सोनाम छिरिङ शेर्पा, ०५६ मा एमालेका भुपाल किराती र ०७० मा एमालेका आङनिमा शेर्पालाई हराएका थिए । ०६४ मा माओवादीका गोपाल किराती, ०७४ मा माओवादीका हेमकुमार राई र ०७९ मा एमालेका मानवीर राईसँग पराजित भएका थिए । अहिले सोलुखुम्बुमा कांग्रेसले प्रकाशसिंह कार्कीलाई उम्मेदवार बनाएको छ। कार्कीले विरासत जोगिनेमा आफू ढुक्क रहेको बताए। ‘म ढुक्क छु, अधिकतम प्रयास गर्नेछु,’ उनले भने, ‘सबैको सहयोग पाएँ भने नजित्ने कुरै छैन।’
६) बालकृष्ण खाण (रुपन्देही–२)
रुपन्देहीमा २०४८ सालदेखि नै प्रतिस्पर्धा गर्दै आएका खाणले दुई निर्वाचनमा हार र बाँकीमा जित निकालेका छन्। २०४८, २०६४ र २०७० मा प्रत्यक्ष निर्वाचित भए भने २०७४ मा समानुपातिक सांसद बने। २०५१ र २०७९ मा भने उनी पराजित भए। २०५६ सालमा तरुण दलको अध्यक्ष हुँदा उम्मेदवार बनेनन्। गृह, रक्षा र सिँचाइजस्ता मन्त्रालयको जिम्मेवारी सम्हालेका खाणले ०४८ मा एमालेका कललेन्दु पाठक, ०६४ मा एमालेकै लिला गिरी र ०७० मा पनि एमालेकै घनश्याम भुसाललाई पराजित गरे । ०५१ मा एमालेका मोदनाथ प्रश्रित र ०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासँग पराजित भए । अहिले कांग्रेसले प्रतिनिधिसभा क्षेत्रीय सभापति सुशील गुरुङलाई उम्मेदवार बनाएको छ। गुरुङले सदनमा यस क्षेत्रको दमदार आवाज नउठेको भन्दै आफू जित्ने दाबी गरे। ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, आईसीपीजस्ता योजना कांग्रेसकै पालामा आएका हुन्। यस क्षेत्रलाई व्यवसायीमैत्री, स्वास्थ्य र शिक्षाको हब बनाउने एजेन्डासहित मैदानमा उत्रिएको छु,’ उनले भने।
७) रमेश लेखक (कञ्चनपुर–३)
२०५६ सालबाट संसद् प्रवेश गरेका रमेश लेखक ४ कार्यकाल सांसद भए। ३ पटक प्रत्यक्ष जितेका उनी एकपटक समानुपातिक सांसद बने भने एकपटक पराजित भए। कञ्चनपुरको निर्वाचन क्षेत्र नं. ३ मा २०५६, २०७० र २०७९ मा निर्वाचित लेखक २०७४ मा पराजित भए । लेखकले २०७९ मा एमालेकी निरुदेवी पाल, ०५६ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रबहादुर खत्रीलाई पराजित गरे । उनले २०७० मा एमाले उम्मेदवार डा. दीपकप्रकाश भट्टलाई हराए भने ०७४ मा वाम गठबन्धनका उम्मेदवार उनै भट्टसँग पराजित भए । अहिले उनको क्षेत्रमा कांग्रेसले हरि बोहोरालाई उम्मेदवार बनाएको छ। बोहोराले त्रिदेशीय नाका र सुख्खा बन्दरगाहको योजनासहित जित्ने दाबी गरे। ‘कांग्रेसको राम्रो जनमत भएको क्षेत्र हो। सबैलाई मिलाएर अगाडि बढ्दै जित्ने प्रयास गर्छु,’ उनले भने।
८) हृदयराम थानी (सुर्खेत–२)
सुर्खेत–२ बाट ६ पटक प्रतिस्पर्धा गरेका थानीले ३ पटक जित र ३ पटक हार बेहोरेका छन्। उनी २०५६, २०७० र २०७९ मा निर्वाचित भए भने २०५१, २०६४ र २०७४ मा पराजित भए। थानीले ०५६ र ०७० को संसदीय चुनावमा एमाले उम्मेदवार यामलाल कँडेललाई पराजित गरे भने २०७९ मा पनि एमालेकै तत्कालिन जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई पराजित गरे । २०५१ को मध्यावधि निर्वाचन र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा थानीलाई एमाले उम्मेदवार कँडेलले पराजित गरेका थिए । ०७४ मा थानीलाई एमालेका अर्का उम्मेदवार नवराज रावतले पराजित गरे । अहिले उनको स्थानमा नारायण कोइराला उम्मेदवार बनेका छन्।
- मधुसुदन भट्टराई / रातोपाटीबाट















