पोखरा, आगामी फागुन २१ गते हुने संसदीय निर्बाचनका लागि कास्कीका तीन निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले उम्मेदवारहरूको टुंगो लगाएको बुझिएको छ । लामो रस्साकस्सीपछि कास्कीमा उमेदवारहरुको टुंगो लागेको हो जसअनुसार कास्कीको क्षेत्र नम्बर १ मा तिलक रानाभाट, क्षेत्र नम्बर २ मा माधवप्रसाद बास्तोला (मधु) र क्षेत्र नम्बर ३ मा मनोज गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको श्रोतले जनाएको छ। उल्लिखित नेताहरुको बारेमा निर्णय भैसकेको भएपनि उनीहरुले उमेदवार मनोनयनको लागि आबश्यक पर्ने पत्र भने अझै प्राप्त गरिसकेको छैनन ।
कास्की -१ बाट कांग्रेसको उमेदवार बन्ने अवसर पाएका तिलक रानाभाटले काठमाडौँमा बैदेशिक रोजगार ब्यबसाय संचालन गर्दै आएका छन। बैदेशिक रोजगार ब्यबसायी संघ लगायतका संस्थामा संलग्न रानाभाट बिशेष महाधिबेशनबाट नेपाली काँग्रेसको केन्द्रीय सदस्य बनेका छन । बिगतमा कांग्रेसको आन्तरिक राजनीतिमा शेरबहादुर देउवाको पक्षमा रहेर क्रियाशील रहेका रानाभाट पछिल्लो समय बिशेष महाधिबेशनबाट सभापतिमा निर्बाचित गगन थापाको समुहमा क्रियाशील थिए । पछिल्लो समय रानाभाटको काठमाडौँ अनामनगरमा रहेको घरमा गगन थापाको निजि सचिवालय रहेको बताइएको छ ।

उक्त क्षेत्रबाट नेपाली काँग्रेस कास्कीका पुर्व सभापति एबम बिशेष महाधिबेशनबाट केन्द्रीय सदस्य बनेका कृष्ण केसी समेत उमेदवार बन्ने दौडमा सक्रिय भएर लागेका थिए। त्यस क्षेत्रमा जनाधार भएको मानिने केसीलाई यस अगाडीको संसदीय निर्बाचनमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उमेदवार किशोरदत्त बराल र प्रदेश सांसदका उमेदवार दिपक गुरुङ माईलालाई असहयोग गरेको भन्ने उजुरीका आधारमा ३ महिनासम्म पार्टी सदस्यताबाट निलम्बन सहितको कारबाही गरेको थियो। उनलाई कारबाही गर्न प्रतिनिधिसभा सदस्यका उमेदवार बराल र प्रदेश सांसदका उमेदवार गुरुङ समेतले केन्द्रीय कार्यालयमा उजुरी दिएका थिए।
कास्की -२ बाट उमेदवार बन्ने मौका प्राप्त गरेका बाँस्तोला नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि एबम गण्डकी प्रदेशका प्रबक्ता हुन। पोखरा -११ फूलबारीका स्थायी बासिन्दा बाँस्तोला यस अगाडी कास्की क्षेत्र न. २ को सभापति र २०५४-२०५९ सम्म तत्कालिन पोखरा नगरपालिकाको वडाध्यक्ष रहेर काम गरेका थिए । कांग्रेसको आन्तरिक राजनीतिमा उनि देउवा बिरोधि खेमाको भनेर चिनिन्थे। तर, पछिल्लो समय कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा गगन थापाको समुहमा क्रियाशील भएपछि बाँस्तोला पनि शर्मासंगै थापाको समुहमा पुगेको बताइन्छ।

त्यस क्षेत्रबाट बाँस्तोला सहित अन्य धेरै जना नेताहरु उमेदवार बन्ने दौडमा लागेका थिए। यस अगाडी एकपटक कांग्रेसबाट उमेदवार बनेर नेकपा एमालेका नेता रबिन्द्र अधिकारीसंग पराजित भएका कांग्रेस नेता एबम बिशेष महाधिबेशनबाट कांग्रेसको केन्द्रिय सदस्य हुँदै प्रबक्ता बनेका देबराज चालिसेले चुनाब लड्ने साहस नदेखाएपछि कांग्रेसबाट बैकल्पिक उमेदवारको खोजि भैरहेको थियो । त्यस क्रममा बाँस्तोला सहित कांग्रेस नेताहरु बिरेन्द्रनारायण बिजुक्छे, ऋषिराम काफ्ले, बिजय आचार्य र किरण केसीलगायतको नाम चर्चामा आएको थियो।
कास्की -३ बाट कांग्रेसको उमेदवार बन्ने अवसर पाएका मनोज गुरुङ नेपाली काँग्रेसको कास्की क्षेत्र न. ३ का सभापति र नेपाल तरुण दल कास्कीका अध्यक्ष रहेका छन। नेपाली कांग्रेसको संगठनमा युवाहरुमाझ राम्रो पकड भएको र त्यस क्षेत्रमा बलियो उमेदवारको रुपमा पनि गुरुङ चिनिन्छन। गुरुङ अघिल्लो निर्बाचनमा पनि उमेद्वार बन्न चाहेको भएपनि गठबन्धनका कारण कांग्रेसबाट त्यस क्षेत्रमा उमेदवार नबनाउदा उनले चुनाब लड्न पाएका थिएनन। कांग्रेसको आन्तरिक राजनीतिमा देउवा समुहको भनेर चिनिने गुरुङलाई पार्टी भित्रको आन्तरिक सन्तुलन मिलाउन र जिल्लाका गुरुङ मतदातालाई रिझाउन उमेदवार बनाएको बताइन्छ।

कास्की ३ बाट नेपाली काँग्रेसका नेता रामचन्द्र त्रिपाठीलाई उमेदवार बनाउने चर्चा पनि निकै चलेको थियो। यसबाहेक कांग्रेसको राजनीतिमा केहि वर्षदेखि क्रियाशील केहि युवासमेत टिकटको दौडधुपमा लागेको बुझिएको छ। तर, लामो समयको रस्साकस्सी पछि गुरुङलाई उमेदवार बनाउने निर्णय भएको बताइन्छ। तर कास्की -३ बाट पार्टीको बिभिन्न जिम्मेवारीमा रहेका नेताहरुले गुरुङको पक्षमा लबिंग गरेको कारण अन्तिम अबस्थामा गुरुङको नाममा निर्णय भएको बताइएको छ।
कास्कीका ३ क्षेत्रबाट उमेदवार चयन गर्दा कांग्रेस भित्रको आन्तरिक गुटको समेत सन्तुलन मिलाउनुपर्ने भन्ने आवाज उठ्दै गर्दा क्षेत्र न. १ बाट गगन थापा समुह र कास्की ३ बाट देउवा समुहको नेतालाई उमेदवार बनाएमा कास्की -२ मा नेता शेखर कोइराला समुहको नेतालाई उमेदवार बनाउनुपर्ने आवाज समेत उठेको थियो। सोहि अनुरुप बिजय आचार्यले समेत उमेदवार बन्न पाउने अपेक्षा राखेका थिए उनले सोमबार दिनभर आँफु निकटका स्थानीय कांग्रेस नेताहरुसंग चुनाब लड्नुपर्ने अबस्था आउनसक्ने भन्दै जानकारी गराएको क्षेत्र न. २ का एक वडा सभापतिले गुरुकुल खबरलाई जानकारी दिए । तर कतिपयले कास्की -२ कोइराला समूहलाई टिकट नदिएर गगन थापा समुहलाई र कास्की ३ मा देउवा समुहलाई टिकट दिंदा कास्की – १ बाट नेता कोइरालाको समुहमा रहेका सुदिपमोहन भट्टराईलाई टिकट दिनुपर्ने आवाज समेत उठाएको कतिपयको भनाई छ।
नेपाली काँग्रेसले आन्तरिक रुपमा कास्कीका ३ क्षेत्रमा उल्लिखित नेताहरुलाई उमेदवार बनाउने निर्णय गरेको भएपनि संसदीय बोर्डबाट अनुमोदन हुन भने बाँकी रहेको बुझिएको छ।संसदीय बोर्डबाट निर्णय भएर उमेद्वार मनोनयनको लागि आबश्यक पत्र प्राप्त नगर्दासम्म र कहिलेकाहीं उमेदवार मनोनयन पत्र प्राप्त गरेपछि समेत टिकट खोसिने वा रोकिने गरेको कारण उल्लिखित नेताहरुको उमेदवारी पनि निर्बाचन आयोगमा दर्ता नहुँदा सम्म परिबर्तन हुनसक्ने झिनो सम्भावाना समेत रहेको बताइन्छ।















