Play

वडाध्यक्षले खुकुरी देखाएको भन्दै स्थानीयको बिरोध: ल्यान्डफिलसाइटको निर्माण कार्य अलपत्र बन्ने सम्भावना

वडाध्यक्षको निजि गाडीमा तोडफोड, वडा कार्यालयमा पनि तालाबन्दी


गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा न. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखराको फोहरमैला ब्यबस्थापनको लागि ल्यान्डफिलसाइट निर्माणको विषयलाई लिएर भएको बिबादमा वडाध्यक्ष अधिकारीले हतियार (खुकुरी) देखाएको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। अधिकारी नेपाली काँग्रेसको तर्फबाट उमेद्वार बनेर वडाध्यक्षमा निर्बाचित भएका हुन।

पोखरा महानगरपालिकाले महानगरको फोहोरमैला ब्यबस्थापनको लागि पोखरा -३३ को झाँक्रीखोला नजिकको जग्गामा ल्याण्डफिल साइट निर्माण गर्ने भनि जग्गा ब्यबस्थापन गरेर काम अगाडी बढाउन खोज्दा स्थानीय सर्बसाधारणले बिगत दुई वर्षदेखि विरोध गर्दै आएका छन्।

पछिल्लो पटक ल्यान्डफिलसाइट निर्माणको काम महानगरले अगाडि बढाउने तयारी गरेपछि त्यसको विरोध गर्दै स्थानीय बासिन्दाहरु शुक्रबार पोखरा– ३३ को वडा कार्यालयमा तालाबन्दी गर्न गएको थिए। स्थानीयले बिरोध स्वरूप तालाबन्दी गर्न खोज्दा वडाध्यक्ष रामचन्द्र अधिकारीले उनीहरूलाई खुकुरी देखाएर तर्साउन खोजेको भन्दै विवादले झनै चर्को रुप लिन पुगेको थियो।

स्थानीय बासिन्दाले वडा कार्यालय अगाडी आएर नाराबाजी गर्दैगरेको अबस्थामा गाडी चढेर आएका वडाध्यक्षसँग विवाद भएको थियो।  बिबादको क्रममा वडाध्यक्ष अधिकारीले आफूले लगाएको ज्याकेटको चेन खोली खुकुरी देखाएको र त्यस लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। वडाध्यक्षले खुकुरी देखाएपछि स्थानीयहरु उत्तेजित बनेको र त्यहाँको बाताबरण तनावग्रस्त बनेको थियो ।

वडाध्यक्षले नै खुकुरी देखाएपछि स्थानीयले वडा कार्यालयको मूल गेटमा मात्र नभएर वडाध्यक्षको कार्यकक्षमा पनि ताला लगाइदिएका छन। आक्रोशित स्थानीयले वडाध्यक्षको निजि गाडीमा ढुंगामुढा गरेर तोडफोड गरेका छन । आक्रोशित स्थानीयले गाडीमा आगजनी समेत गर्न प्रयास गरेको तर केहि स्थानीय र प्रहरीले आगजनी हुन बाट बचाएको बताइएको छ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले वडाध्यक्षलाई सुरक्षामा राखिएकाे जानकारी दिंदै खुकुरी प्रदर्शन गरेको घटनाबारे अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनले बताए । ल्यान्डफिलसाइट बनाउन नदिने अडान लिएका स्थानीयहरूले पनि आंफ्नो माग पूरा नभएसम्म ताला नखोल्ने बताएका छन्।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरा– १४, बाच्छेबुडुवामा रहेको ल्यान्डफिलसाइट बन्द गरि पोखराको फोहोरमैला पोखरा– ३२, लामेआहालमा फाल्न सुरु गरिएको थियो। ६ महिनाका लागि भनिएको उक्त स्थानमा फोहोरमैला फाल्न लागेको करिब साढे तीन वर्ष बित्दा समेत स्थायी साइट तयार हुनसकेको छैन। फोहोरमैला ब्यबस्थापनको लागि पोखरा -३३ को पुँडिटार, झाँक्री खोलामा ल्यान्डफिल साइट निर्माण गर्ने भनि दुई वर्षअघि नै निर्णय गरिएको भएपनि विवादका कारण उक्त योजना अगाडी बढ्न सकेको छैन।

झाँक्री खोलामा ८० करोड रुपैयाको लागतमा ल्यान्डफिल साइट सहितको प्रशोधन केन्द्र निर्माण गर्न ‘टेरासोल्भ रिन्युबल नेपाल प्रालि’ सँग पोखरा महानगरपालिकाले सम्झौता गरिसकेको छ  सार्बजनिक–निजी साझेदारी अन्तर्गत उक्त योजना सञ्चालन गर्ने गरी गत मंसिर २ गते सम्झौता गरिएको भएपनि स्थानीय बासिन्दाको बिरोधका कारण योजनाको निर्माण कार्य कहिले शुरु हुने भन्ने अन्योल छ।

आगामी २६ महिना भित्र निर्माण सम्पन्न गर्ने र २५ वर्षसम्म पोखराको फोहोर व्यवस्थापन गर्ने गरी उक्त योजना अघि बढाइएको भएपनि वडाका बासिन्दाहरुसंगको बिबादको कारण उक्त योजना अगाडी बढ्ला वा रोकिएला भन्ने प्रश्न फेरी उठ्न लागेको छ।

२५ पुष २०८२, शुक्रबार २२:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा