पोखरा, ‘मृत्यु यस्तो हुनुहुँदैन’ नामको नाटक बिहिबारदेखि पोखरामा मन्चन हुँदैछ सावित्रा पाठक सबुले लेखेको यो नाटक पद्माप्रेम थिएटरको तेस्रो प्रस्तुतिको रुपमा पोखराको गन्धर्व नाटक घरको पोखरा थिएटरमा मञ्चन हुने भएको हो । नाटकमा शीतला अधिकारी, रोशनी रामदाम, अभिषेक भुसाल, प्रदीप गौतम (प्रमोद), जय चापागाई, प्रतिमा गुरुङलगायतको अभिनय रहेको छ ।
बाँच्न नजान्ने निम्न मध्यमवर्गीय परिवारको पीडालाई आधार बनाएर तयार गरिएको यस नाटक पुस २४ बिहिबार देखि पुष २७ गतेसम्म मञ्चन हुने पोखरा थिएटरका संस्थापक एवम् निर्देशक पञ्चसुब्बा गुरुङले जानकारी दिए ।नाटकले मानिसले मर्न पनि जान्नुपर्छ भन्ने सन्देश दिएको जनाइएको छ ।
नाटकका लेखक सबु पाठकले कथाकार गुरुप्रसाद मैनालीले आफ्नो चर्चित कथा ‘सहिद’ मा “मानिसले मर्न जान्नु पर्छ, जुन जाति मर्न जान्दछ, बाँच्न पनि त्यसैले जानेको हुन्छ” भनेर लेखेको पंक्तिको सन्देशलाई आधार मानेर नाटक तयार गरिएको बताईन् । अहिलेको युवा र उनीहरुको अभिभावक केन्द्रीत यो नाटक पोखराको एउटी एकल आमाको संघर्षको कथा हो,उनले भनिन्,‘जसमा छोराछोरीलाई सम्हाल्दासम्हाल्दै पनि कसरी गलत बाटोमा जान्छन्, त्यो गलत बाटोले समाजमा कस्तो घटना निम्त्याउन सक्छ ? भन्ने देखाइएको छ ।’
















