पोखरा, रोटरी क्लब अफ पोखरा लेकसाइडले आंफ्नो ११ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा कार्यक्रम संयोजक कृष्ण थापा सहित ३० जनाले रक्तदान गरेको प्रादेशिक रक्तसंचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए।
रोटरीका डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले पहिलो रक्तदाता तथा क्लबका पूर्व अध्यक्ष उपेन्द्र अधिकारी र उनकी पत्नी कृतिका सुवेदी अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
त्यस अवसरमा बोल्दै गभर्नर कोइरालाले रक्तदान कार्यक्रम पुण्यको काम भएको उल्लेख गर्दै क्लबले चार्टर डेको अवसरमा रक्तदान कार्यक्रम सुरुआत गरेकोमा खुसी व्यक्त गरे ।
रोटरीका डिष्ट्रिक्ट सेक्रेटरी सुभाष सिग्देलले मानिसले मरेपछि खाली हात नै जाने भएकाले जीवित छँदै पुण्यको काम गर्नुपर्ने र मानिसले अरुलाई विस्डम, नलेज र स्कील (बुद्धि, ज्ञान र सीप) बाँड्नुपर्नेमा जोड दिए ।
क्लबका अध्यक्ष राजेन्द्र लिगलले रोटरीको नाम ‘लेकसाइड’ रहेको हुँदा पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडबाट नै रक्तदान कार्यक्रम आयोजना गरिएको र आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
क्लबका पब्लिक इमेज चेयर एवं कार्यक्रम संयोजक कृष्ण थापाको संयोजकत्वमा भएको उक्त कार्यक्रममा पोखरा घुम्न आएका आन्तरिक एवं बाह्य पर्यटकले समेत रक्तदान गरेको क्लबका एड्मिन चेयर कुलप्रसाद सुवेदीले जानकारी दिए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष अर्जुन खनाल, पत्रकार आरजु विष्ट सल्यानी, एड्मिन चेयर कुलप्रसाद सुवेदीले रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु डा. वीरबहादुर कार्की, शोभाकान्त सिग्देल, सामुदायिक केन्द्र बैदामका अध्यक्ष ठाकुर बराल लगायत सहभागी थिए ।















