पोखरा, पोखराको पुरानो बिधालय ताल बाराही मावि, बैदामको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका -६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बार्षिकोत्सबको उद्घाटन गर्दै शिक्षाको विकासबिना केही पनि कल्पना गर्ने नसकिने बताए । उनले समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको बताउँदै विद्यार्थीलाई गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गरी दक्ष, सक्षम र नैतिकवान् नागरिक तयार गर्नु हामी सबैको जिम्मेवारी र दायित्व रहेको बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पोखराका पर्यटन ब्यबसायी गोविन्दराज पहारीले कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा, होटेल म्यानेजमेन्ट विषयमा बिधालयमा पठनपाठन भैरहेको जानकारी गराउंदै एसइईलाई मध्यनजर गर्दै कक्षा १० का विद्यार्थीका लागि छात्राबास भवनको निर्माण प्रक्रिया चलिरहेको बताए ।
२०१४ सालमा स्थापित विद्यालयमा हाल ७ सय १२ जना विद्यार्थी अध्ययनरत् छन् । शिक्षक र कर्मचारी गरी ४७ जना कार्यरत् छन् । यसैगरी ४१ जना अक्षयकोषदाताबाट ३९ लाख १५ हजार रुपैयाँ बराबरको अक्षयकोष बिधालयमा रहेको बुझिएको छ ।
विद्यालयका वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक ताराप्रसाद पोखरेलले प्रविधियुक्त गुणस्तरीय शिक्षासहितको व्यावहारिक, प्रयोगात्मक प्रणाली बनाउने संकल्प पूरा गर्न निरन्तरक्रियाशील रहेको बताए । उनले सिकाइमा प्रविधिको प्रयोग, निरन्तर अभ्यास र परियोजनामा आधारित सिकाइ र मूल्यांकनमा जोड दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा अधिकृत रामप्रसाद तिवारी, पूर्व शिक्षक तथा पूर्व व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम पहारी, बालहितकारी परियोजना नेपालका अध्यक्ष रामप्रसाद शर्मा, अभिभावक शिक्षक संघ कार्यकारी समितिका अध्यक्ष मुक्तिराम पौडेल, भूपू विद्यार्थी मञ्चका अध्यक्ष डा. मनोज कोइरालाको साथै बिधालयका सहायक प्रधानाध्यापक द्रोणराज भूर्तेल र अर्का सहायक प्रधानध्यापक यदुराज पोखरेल आआफ्नो भनाई राखेका थिए।
सो अवसरमा शिक्षक टीकाराम आचार्यको बिदाइ गरिनुका साथै विद्यालयमा योगदान पुर्याउने शिक्षक र कर्मचारीका साथै विद्यालयका पूर्व संचालक समिति अध्यक्ष तथा परिवार लगायतलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा वर्षभरिमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी, खेलकुदका विभिन्न प्रतिष्पर्धामा उत्कृष्ट हुने विद्यार्थीलाई ट्रफी, मेडल र छात्रवृद्धि प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नाच गान सहितका सांस्कृतिक प्रस्तुति दिएका थिए ।















