काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिबेशनको क्रममा कसैको पक्षमा पनि खुलेर नलाग्ने संकेत दिएका छन । आंफ्नो उत्तराधिकारी चयनका बेला हुने पहिलो चरणको निर्वाचनमा कुनै पनि उमेदवारका पक्षमा नखुल्ने रणनीतिमा देउवा रहेको बुझिएको छ । नेपाली काँग्रेसको महाधिबेशनको मिति अझै अनिश्चित रहेपनि माघ मसान्त भित्रमा नियमित वा पुष मसान्त भित्रमा नै बिशेष महाधिबेशन गर्नुपर्ने दवाबमा केन्द्रीय समिति परेको छ ।
मंगलवार सिमित पत्रकारसँग कुराकानी गर्ने क्रममा देउवाले नेपाली काँग्रेसको १५औँ महाधिवेशनको दोस्रो चरणमा हुने निर्वाचनमा भने अनुकूल परिस्थिति हेरेर कसैलाई समर्थन गर्ने उनले बताए । उनले प्रश्न गरे ‘‘मैले भनेर मात्र त हुँदैन, मेरो खुसीले छानेको उमेदवारलाई देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरूले भोट हाल्दिन्छन् र ?” सभापतिमा कसलाई समर्थन गर्नुहुन्छ भन्ने प्रश्नमा देउवाले भने, “म कसैका पक्षमा खुल्दिनँ । दोस्रो चरणमा गएछ भने अनुकूल अवस्था हेरेर समर्थन गर्छु ।”
‘तपाईंको समूहबाट को हो त उमेदवार ?’ देउवाले कूटनीतिक शैलीमा जवाफ दिए ‘‘मैले कार्यवाहक दिएको व्यक्ति हुँदाहुँदै त्यस्तो प्रश्न गर्न मिल्छ र ?’ मसँगै निर्वाचित भएका उपसभापति, जसलाई मैले कार्यवाहक दिएको छु, तपाईं अर्को उमेदवार खोज्दै हुनुहुन्छ र ?” देउवाले भने, “म नेतृत्व हस्तान्तरण गर्न लागेको व्यक्ति हुँदा उमेदवार तोक्दै हिँड्ने हो र ?” उनले पत्रकारलाई नै प्रतिप्रश्न गरे
सभापति देउवाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समर्थन माग्न आएको तर, कसैलाई सहयोग गर्ने आश्वासन नदिएको समेत स्पष्ट पारे। “दुई महामन्त्री आउनुभएको थियो सहयोग माग्न, मैले सहयोगको वचन दिएको छैन,” देउवाले भने, “शेखर कोइराला पनि उमेदवार बन्ने भनेको सुनेको छु । तर, उहाँले मसँग सहयोग माग्नुभएको छैन ।”
केहि पत्रकारले ‘कोइराला प्रेम परिवर्तन भएको हो ?’ भन्ने प्रश्न गरेपछि देउवाले आफू गिरिजाप्रसाद कोइरालाको सहयोगी मात्र नभई प्रतिस्पर्धी समेत भएको स्मरण गराए । “म गिरिजाबाबुको सहयोगी मात्र होइन, उहाँसँग प्रतिस्पर्धा पनि गरेको मान्छे हो नि,” देउवाले भने, “तर मेरो कसैसँग आग्रह छैन । सभापति महाधिवेशन प्रतिनिधिले छान्छन् । दोस्रो चरणमा गयो भने म उपयुक्त व्यक्तिलाई सहयोग गर्छु ।”
केहि समयको बार्तालाप पछि मात्र देउवाले हालका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शेखर कोइराला, महामन्त्री गगन थापा र अरू पनि सभापतिका दावेदार रहेको प्रसङ्ग खुलाएका थिए । पछिल्लो समय डाक्टर शेखरसँग देखिएको निकटताबारे उनले केही बताउन चाहेनन् । ‘बिभिन्न काम भइरहेकाले कामकै लागि वहाँसंग भेटघाट भएको छ । समानुपातिक उमेदवार टुंग्याउन पछिल्लो समय भेट भएको थियो ।’ देउवाले भने
देउवालाई २०८१ फागुनमै उनकै पक्षका ११ नेताले टिमको उमेदवार छान्न आग्रह गरेका थिए । तर, उनले सातबुँदे सहमति अनुसार आफू प्रधानमन्त्री बनेपछि मात्र महाधिवेशनको प्रक्रिया अघि बढाउने र उमेदवार पनि तोक्ने बताएका थिए । सहमति अनुसार प्रधानमन्त्री बन्ने समय नआउँदै जेनजी विद्रोहबाट सत्ता पलट भएपछि देउवाले भनेकोभन्दा अगावै महाधिवेशनको प्रक्रिया अघि बढेको छ ।
आफ्नो टिमबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सात भाइ नेताहरूका छुट्टाछुट्टै दबाब देउवामाथि छ । त्यस्तै, महामन्त्री गगन थापाका लागि सहयोगको आग्रह गरिएको भए पनि पछिल्लो समय थापा देउवासँग टाढिन पुगेको महशुस गर्न थालिएको छ । चुनावअघि जसरी पनि नेतृत्व परिवर्तन गर्ने अडान राखेपछि देउवा र थापा सम्बन्ध टाढिएको बताइन्छ ।















