Play

रास्वपाको समानुपातिक बन्द सुचीमा कस्ता कस्ता ? सोहि दलका नेता सहित जेनजी र अभियन्ता असन्तुष्ट

गुरुकुल खबर


पोखरा, पुराना दलको रुपमा चिनिएका नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओबादी लगायतले समानुपातिक सांसदको लागि निर्वाचन आयोगमा बुझाउने बन्द सुचीमा आंफ्नो परिवार सहित नातागोता र मोटो रकम सहयोग लिएर नाम समाबेश गर्ने गरेको आरोप लगाईने गरेको थियो । तर, नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत पनि समानुपातिकको मर्म बिपरित आंफ्नो निकटकाहरु र आर्थिक लाभ लिएर नामावली तयार गरेको आरोप उनीहरु भित्रैबाट लाग्न थालेको छ ।

वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कलाकार, क्रिकेटर, गायक एबम अन्य सेलेब्रेटीहरु, धनाढ्यका छोरा छोरीहरु एबम आँफु निकटकालाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखेकाे छ । रास्वपाले बन्द सूचीमा राखेकाहरुमा नेपोबेबीको रुपमा लिईने डा. महेन्द्र लावती, मिस नेपाल अनुष्का श्रेष्ठ, ख्यातीप्राप्त गायिका तथा चिकित्सक त्रिशाला गुरुङ,  ख्यातिप्राप्त गायिका सत्यकला राई, नेपाल सरकारकार पूर्व सचिव तथा इन्जिनियर अनुपकुमार उपाध्याय, गोल्ड स्टार जुत्ताकी सिइओ तथा अर्बपति व्यवसायी विदुषी राणा, ख्यातिप्राप्त गायक प्रकाश सपुत, ख्यातिप्राप्त टेलिभिजन प्रस्तोता रिमा विश्वकर्मा, चिकित्सक रुपक विश्वकर्मा, फिल्म निर्माता तथा कलाकार, प्रस्तोताआसिफ साह, महिला आयोगकी सदस्य, विभिन्न क्षेत्रमा पटक पटक अवसर पाएकी  मोहना अन्सारी, ख्यातिप्राप्त क्रिकेटर ज्ञानेन्द्र मल्ल र अर्बपति चन्द्र ढकालका छोरा सचिन ढकाल लगायत रहेका छन ।

रास्वपा नेतृ तोशिमा कार्की, जेनजी अगुवा भावना राउत र अभियन्ता आशिका तामांग लगायतले बिगतमा पुराना दल र नेता प्रति कटाक्ष गर्दै आएकोमा अहिले आएर उनीहरुले नयाँ वा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीको समेत बिरोध गरेका छन। उनीहरु लगायत सर्बसाधारणबाट समेत बैकल्पिक र नयाँ शक्तिको रुपमा उदाएको भनिएका दलको बिरोध शुरु भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका केहि नेताले नामावलीलाई सच्च्याईने समेत बताउन थालेका छन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तोसिमा कार्कीले पार्टीले छनोट गरेको समानुपातिक सूचीप्रति आपत्ति जनाउंदै विपन्नलाई एबम पहुँच र पावर नभएकालाई स्थान दिनुपर्नेमा त्यस्तो नभएको र पार्टीले गरेको प्राईमेरी भोटिङकै धज्जी उडाएर आंफ्नो नजिक रहेकाहरुको नाम  अग्रपङ्तिमा सुरक्षित गरिएको भन्दै यस्तो प्रवृत्ति पुराना दलभन्दा फरक नदेखिएको उल्लेख गरेकी छन ।

प्राइमरी इलेक्सनको धज्जी उडाइयो, पहुँच र पावर नभएकालाई राख्नुपर्नेमा आंफ्नो नजिकका लाई राखियो – तोसिमा कार्की 

‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरूले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सुचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सुचीले कर्णाली बोल्नुपर्छ। सुदूरपश्चिम बोल्नुपर्छ। सुचीले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृत्वका आफन्तहरू र पार्टीको भाईटल पोस्टमा हुनेहरू नै समानुपातिक सुचीको लागी आकाङ्क्षी हुनु र त्यहीँ आफ्नो स्पेस बनाउनु,बनाईनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ’, उनले सामाजिक संजाल मार्फत पार्टी नेतृत्वप्रति कटाक्ष गर्दै भनेकी छिन् ।

पार्टीको सचिवालय र पदाधिकारीहरूलाई समानुपातिकमा राख्न नहुनेमा उनको जोड छ । उनले भनेकी छिन् -‘फेरी विरोधी भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरू भनेको सधैँ पोजिसन अफ बेनिफिटमा हुन्छन्। चाहे प्राईमेरीको भोटिङमा होस् या ईभालुएसनमा। पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिन सम्मपदाधिकारी या सचिवालय दुबै निर्वाचन बाट बनेको होइन, पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सुचीमा ! त्यो पनि प्राईमेरी भोटिङकै धज्जी उडाउँदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृत्ति पुराना दलभन्दा धेरै फरक देखिएन। ‘ सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले आआफ्नो नाम समानुपातिकको सूचिबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्ने उनले उल्लेख गरेकी छिन् ।

पुरानाले गरेको अन्याय दोहोर्याएर कसरि आँफुलाई नयाँ भन्छौ ? – भावना राउत 

यसैगरी जेनजी अभियन्ता भावना राउतले नयाँ दलहरूले आगामी प्रतिनिधिसभा निर्वाचन अन्तर्गत निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको प्रति असन्तुष्टि जनाएकी हुन् ।  उनले सामाजिक संजाल मार्फत प्रश्न गरेकी छन,’समानुपातिक कसका लागि बनाइएको हो स्पष्ट छ । तर आज प्रश्न यो हो, यसलाई कब्जा कसले गर्‍यो ? निर्वाचन लड्न सक्ने शक्ति, पैसा, पहुँच र पहिचान भएकाहरूलाई समानुपातिक सूचीमा बस्दा अलिकति पनि लाज लागेन ?

उनले थप प्रश्न गर्दै जेनजी आन्दोलन यस्तै काम गर्न भएको हो त ? समेत भनेकी छन  के यहीका लागि आन्दोलन भयो ? के यहीका लागि जनआन्दोलन र रगत बगाइयो ? सुदूरपश्चिम, मधेस, दलित, जनजाति उनीहरूलाई आन्दोलनको अगाडि राख्ने, तर सत्ता र निर्णयको कुर्सीमा फेरि सहरका ‘ब्रान्डेड अनुहार’ मात्र ?  यो प्रतिनिधित्व होइन, यो त खुला धोका हो । आफूलाई ‘वैकल्पिक’ भन्नेहरू झनै जिम्मेवार हुनुपर्ने होइन ? पुरानाले गरेको अन्याय दोहोर्‍याएर तिमीहरू कसरी नयाँ राजनीति भएको दाबी गर्छौ ?’

अभियन्ता  राउतले उनीहरूसँग चुनाव लड्ने स्रोत, मैदान, मिडिया भएको उल्लेख गर्दै भनिन्,’समानुपातिक त तिनका लागि होइन र जसले सधैँ अवसरको ढोका बन्द पाए। अरूको अधिकार खोसेर ‘परिवर्तन’ बेच्ने यो कस्तो राजनीति हो ?’

ठेकेदारका छोरा र आसेपासेलाई राखेर निमुखा बर्गलाई फालियो – आशिका तामांग 

यसैगरी समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले सार्वजनिक गरेका बन्दसूचीमाथि सामाजिक अभियन्ता आशिका तामाङले पनि कटाक्ष गरेकी छन्। तामाङले मंगलबार सामाजिक सञ्जालमा लेखेकी छन्, ’मलाई त लागेको थियो नयाँबाट एउटा पनि गल्ती हुने छैन र पुरानाले औँला उठाउने मौका पाउने छैनन्। तर त्यस्तो त होइन रहेछ।’ उनले निमुखा वर्ग र पिछडिएको जातीका लागि छुट्याइएका कोटामा पहुँच र पहिचान भएका व्यक्तिहरू अटाएको भन्दै असन्तुष्टि जनाएकी छन्।

उनले पहिल्यै चर्चित भएका व्यक्ति, ठेकेदारका छोरा, आसेपासे, छिमेकी र व्यक्तिगत चिनजानका आधारमा समानुपातिकमा अवसर पाउने अवस्था देखिएको उल्लेख गरेकी छ। सानोमा सँगै स्कुल पढेका साथीसमेत सांसद र मन्त्री बन्ने अवसर पाउने तर वास्तविक रूपमा पछाडि पारिएका वर्ग भने फेरि पनि ओझेलमा पर्ने स्थिति आएको उनको भनाइ छ। तामाङले समानुपातिक प्रणालीको उद्देश्य कमजोर, सीमान्तकृत र अवसरबाट वञ्चित वर्गलाई राज्यका निकायमा प्रतिनिधित्व गराउनु भए पनि व्यवहारमा भने त्यसको विपरीत भइरहेको बताएकी छन्।

संविधानको मर्म बिपरित आरक्षण आबश्यक हुनेको भाग खोसेर अरुलाई दिईयो – बिरेन्द्र जैरु 

यसैगरी, संचारकर्मी बिरेन्द्र जैरुले राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको मर्मविपरित समानुपातिक उम्मेदवारहरुको बन्द सूची बुझाएको उल्लेख गरेका छन । नेपालको संविधानको धारा ४२ ले आर्थिक, सामाजिक वा शैक्षिक रुपले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक, समीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैगिक तथा यौनिक अल्पसख्यंकहरुलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागी गराउने भनेको छ तर  धारा ४२ कै मर्मबमोजिम समानुपातिक तर्फ उम्मेदवारहरुको खोजी नगरीएको उनले सामाजिक संजालमा लेखेका छन ।

‘रास्वपाको बन्दसूचीमा परेका यिनीहरु आर्थिक सामाजिक वा शैक्षिक दृष्टिले पछाडि पारिएकाहरुमा गणना हुँदैनन् । आफ्नै बलबुँतामा खुला प्रतिस्पर्धाबाटै अगाडि आइसकेका यिनीहरुलाई अब समानुपातिक भनिने आरक्षण आवश्यक छैन । आरक्षण आवश्यक हुनेहरुको भाग खोसेर यिनीहरुलाई रास्वपाले दिएको हो भन्दा फरक नपर्ला’ जैरुले लेखेका छन।’

१६ पुष २०८२, बुधबार १०:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा