लेखनाथ, पोखरा महानगरपालिकाको लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सवमा सहभागी दर्शकहरुको सहभागिता, महोत्सब स्थलमा भैरहेको आर्थिक कारोबार र सांस्कृतिक प्रस्तुतिका दृष्टिकोणले बिगतको भन्दा सफल बन्ने देखिएको छ। स्थानीय उत्पादनको प्रबर्द्दन, लोकसंस्कृतिको संरक्षण र आर्थिक गतिबिधिमा वृद्धि हुनुलाई महोत्सवका उपलब्धिको रूपमा लिन थालिएको छ।
महोत्सवको नवौं दिन शुक्रबारसम्मको दर्शकको आगमन हेर्ने हो भने आयोजकले महोत्सब अबधिभरमा आउने अनुमान गरेको संख्या पुगि सकेको छ दर्शकहरुको संख्या संगै कारोबार समेत वृद्धि भएको कारण अधिकांश ब्यबसायीहरु समेत खुसि देखिएपछि आयोजकहरुमा उत्साह थपिएको छ । शुक्रबारसम्म महोत्सबमा भित्रिने दर्शकहरुको संख्या करिब २ लाख ५० हजार पुगेको छ । महोत्सवको अबधि अझै तिन दिन बाँकी रहेकोले दर्शकसंख्या र आर्थिक कारोबार थप बढ्ने अपेक्षा गरिएको छ ।
महोत्सबमा दैनिक एक करोडको हाराहारीमा कारोबार भैरहेको अनुमान गरएको छ। महोत्सवमा कृषि, जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, माछा तथा पशुपंक्षीसम्बन्धी स्टलहरूमा राम्रो कारोबार भएको छ। विशेषगरी बाल उद्यान, खाना महोत्सव र कृषि प्रदर्शनी दर्शकका लागि आकर्षण बनेका छन् ।
यस वर्ष महोत्सवमा कृषि बहस र औधोगिक बहस कार्यक्रम पनि आयोजना गरिएको छ। कृषि बहसमा माछापालन, अलैंची खेती र पोल्ट्री व्यवसायका कृषकहरूले अनुभवको साथै आँफुहरुले भोग्नुपरेका समस्या र चुनौतीको बारेमा चर्चा गरेका थिए भने औधोगिक बहसमा विभिन्न उद्योगीहरूले व्यवसायिक संघर्ष र सफलताका कथा प्रस्तुत गरेका थिए।
नीति निर्माता र सरोकारवालाबीच हुने गरेका यस किसिमका प्रत्यक्ष संवादले महोत्सवलाई केवल मनोरञ्जनात्मक मात्र नभई ज्ञान र बहसको मञ्चका रूपमा स्थापित गरेको लेखनाथ उधोग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले गुरुकुल खबरलाई जानकारी दिईन ।
सांस्कृतिक, साहित्यिक र शैक्षिक कार्यक्रमहरू पनि महोत्सवका थप आकर्षण बनेका छन्। कवि शिरोमणि लेखनाथ पौड्यालको योगदान स्मरण गर्दै साहित्यिक कार्यक्रम अन्तर्गत शनिवार अभिनन्दन कार्यक्रम रहेको छ । विद्यालयस्तरीय प्रस्तुति, लोकदोहोरी, हास्यव्यङ्ग्य, सुगम संगीत र लाइभ कन्सर्टहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।

लेखनाथ महोत्सव हाल आएर कृषि, उद्योग, संस्कृति र साहित्यको साझा मञ्चका रूपमा स्थापित भएको छ। स्थानीय उत्पादनको बजारीकरण, साना तथा मझौला व्यवसायको प्रबर्द्दन र सांस्कृतिक पहिचान जोगाउन लेखनाथ महोत्सव प्रभावकारी माध्यम बन्दै गएको सरोकारवालाहरूको भनाइ छ ।
संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीका अनुसार २०६० सालमा सुन्तला प्रदर्शनीको रुपमा शुरु भएको ईभेन्ट्सको परिष्कृत रुप हालको लेखनाथ महोत्सब हो। शुरुवातमा सुन्तला प्रदर्शनी आयोजना गर्दा संघलाई आर्थिक ब्ययभार बढेको कारण संघको कार्यसमितिमा रहेकाहरु चिन्तित बनेको थिए।
सोहि समयमा जिटीजेडले लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमितिमा रहेकाहरुलाई भारतमा हुने मेलाको अबलोकन गर्न जान परामर्श सहित आबश्यक केहि आर्थिक सहयोग समेत उपलब्ध गराएपछि संघको कार्यसमिति भारतको दिल्लीस्थित प्रगति मैदानमा मेला अबलोकन गर्न पुगेको थियो ।
भारतमा मेला अबलोकन गरेर फर्किएपछि स्थानीय एबम राष्ट्रिय र अन्तराष्ट्रिय उत्पादन सहित बिभिन्न बस्तु र सेवाको बिक्रि र प्रदर्शनी गर्ने लक्षसहित संघले बृहत गृहकार्य गरेको र त्यसक्रममा कुन नाम दिएर ईभेन्ट्स गर्ने भन्ने सल्लाह भएको उनले बताए। आंफुले नै लेखनाथ महोत्सब नाम उपयुक्त हुने सल्लाह दिएको स्मरण गर्दै उनले भने। ‘त्यसपछि तत्कालिन कार्यसमितिको बैठकले निर्णय गरेर लेखनाथ महोत्सबको नाममा २०६१ सालबाट यसलाई निरन्तरता दिंदै आएको छ ।’
पुर्व अध्यक्ष त्रिपाठीले २०६१ पछि महोत्सवले निरन्तरता पाइरहेको र कोरोना महामारीको समयमा एक बर्ष भने महोत्सब गर्न नसकिएको जानकारी दिए आँफु अध्यक्ष रहेको समयमा एक बर्ष महोत्सब आयोजना गर्ने स्थलको समस्या भोग्नुपरेको उनले स्पष्ट पारे। बिगतको बर्षहरुमा भन्दा यस पटक संघको टिमले राम्रो तयारी गरेको र आपसमा समन्वय समेत प्रभावकारी भएको कारण यस पटकको महोत्सब अझ सफल भएको महशुस भैरहेको जनाए ।















