काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं आसन्न १५ औं महाधिवेशनका लागि महामन्त्रीका दाबेदार नैनसिंह महरले पार्टीको महाधिवेशन र मुलुकको आमनिर्वाचन तोकिएकै समयमा सम्पन्न हुनुपर्ने कुरामा जोड दिएका छन।
काठमाडौंको नयाँबानेश्वरमा आयोजित अगुवा नेता तथा कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि आवधिक निर्वाचनको विकल्प नरहेको जिकिर गरे ।
‘लोकतान्त्रिक व्यवस्थामा आमनिर्वाचन भनेको जनताको अभिमत नवीकरण गर्ने महत्वपूर्ण अवसर हो भन्दै महरले पार्टीभित्रको आन्तरिक जीवनलाई चलायमान बनाउन र नेतृत्वमा नयाँ ऊर्जा भर्न पनि महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए ।’यसमा कुनै पनि प्रकारको विलम्ब गर्नुहुँदैन’ नेता महरले भने ।
उनले वर्तमान राजनीतिक सन्दर्भमा निर्वाचन र महाधिवेशनलाई पर धकेल्ने वा बिथोल्ने खालका कुनै पनि गतिविधि भए त्यो कांग्रेस, संविधान र समग्र राष्ट्रकै हित विपरीत हुने दाबि गरे । ‘संविधानले कोरेको लिकभन्दा बाहिर जाने छुट कसैलाई छैन । समयमै निर्वाचन र महाधिवेशन सुनिश्चित गर्नु नै अहिलेको मुख्य दायित्व हो’ उनले भने ।















