काठमाडौँ, नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी ११ औं महाधिबेशन अन्तर्गत उमेदवारहरुलाई मतदानको प्रक्रिया आज बुधबार बिहानबाट शुरु भएको छ । मतदानमा सहभागी हुन महाधिबेशन प्रतिनिधिहरु यतिबेला लाइन लागेका छन् । मतदान बिहान ८ बजेदेखि सुरु हुने बताइए पनि केही ढिलो शुरु भएको हो । 
काठमाडौँको भृकुटीमण्डपमा अध्यक्षका प्रत्याशीद्वय केपी शर्मा ओली र इश्वर पोखरेलले मतदान गरेपछि अन्य प्रतिनिधिहरुले धमाधम मतदान गरिरहेका छन् । सुरुमा मतदान गरेका ओली र पोखरेललाई ४५ देखि ५० मिनट लागेको बताइएको छ । एकै पटकमा ५० जनाले मतदान गर्न मिल्ने गरि ठाउँको ब्यबस्था गरिएको छ ।

भित्र छिरेपछि सुरुमा प्रतिनिधि कार्ड स्क्यान गरिने त्यसपछि निश्चित ठाउँमा पुगेपछि कार्डमा प्वाल पारिने र त्यसपछि बुथ ‘मेसिन’मा प्रवेश गरेर मतदान गर्ने ब्यबस्था गरिएको छ मेसिनमा फोटोसहित उम्मेदवारको सूची राखिएको छ। तर मत हालेकाहरुले जनाए अनुसार मेसिनमा घरीघरी टच नभएर डबल ट्याप गर्नु परेको र त्यसो गर्दा बेलाबेला भोट ‘विथ ड्र’ हुने गरेको छ । त्यसपछि पुन: मत हाल्न मेसिनले स्क्रिनमा सूचना दिएपछि पुन मतदान गर्न सकिन्छ ।

जति उम्मेदवार छन्, त्यतिलाई मत हाल्न मेसिनले जनाउ दिन्छ । सङ्ख्यामा केही छुटे मेसिनले ‘यति भोट हाल्न बाँकी छ’ भन्छ । त्यसपछि मतदाताले भोट हाल्नसक्छन् । मतदान गरेका प्रतिनिधिहरुका अनुसार एक जनालाई कम्तिमा २५ देखि ४० मिनेटसम्म समय लागेको छ । प्रविधिमैत्री मान्छेलाई २५ मिनेट लाग्ने उनीहरुको अनुभव छ मतदान गर्ने स्थानमा मोबाइल फोन लान नदिईएको भएपनिउमेद्वारहरुको लिस्ट भने बोकेर जान दिइएको छ ।

यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो । मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो । निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि उक्त समस्या समाधान गरेर आज मतदान हुन लागेको हो ।





















