पोखरा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको निरीक्षण गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबार निर्माणस्थलको अनुगमनका क्रममा मन्त्री घिसिङले अस्पतालजस्तो जनताको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको संवेदनशील संरचनाको निर्माणमा लामो समयदेखि भइरहेको ढिलाइ गम्भीर विषय भएको बताए । उनले भवन निर्माण सम्पन्न हुने समय तालिका, हालको अवस्था र अवरोधबारे महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति तथा निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।
निर्माण कार्यलाई लामो समयसम्म यथास्थितिमा राख्न नसकिने स्पष्ट गर्दै मन्त्री घिसिङले तत्काल काम सुरु नगरे ठेक्का तोडेर निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिए । एक हप्ताभित्र निर्माणले गति नलिएमा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन सम्बन्धित कार्यालयलाई निर्देशनसमेत दिएका छन् ।
यसै क्रममा प्रतिष्ठानका उपकुलपति भरत खत्रीले भवन अभावका कारण स्वास्थ्य सेवा प्रवाहमा गम्भीर समस्या भइरहेको उल्लेख गर्दै निर्माण तत्काल अघि नबढे ठेक्का तोडी नयाँ प्रक्रियामा जानुपर्ने बताए ।
पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन पाँच वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । माघ २०७७ मा २० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म भौतिक प्रगति ५१ प्रतिशतमा मात्र सीमित छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमै सकिएको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गत संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माण भइरहेको उक्त भवन १० करोड ५५ लाख रुपैयाँ (कर बाहेक) लागतमा निर्माण गर्न लागिएको हो ।














