पोखरा, पोखराको नयाँबजारमा मंसिर १७ गतेदेखि सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक-२०८२ पोखरा’ सकिएको छ । मेलाको अबलोकन कति दर्शकले गरेको र कति कारोबार भएको भन्ने बिषयमा भने आयोजक पोखरा उधोग बाणिज्य संघले अहिलेसम्म केहि कुरा सार्बजनिक गरेको छैन ।
पाँचदिने मेलाको समापनको अबसरमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस क्षेत्रमा रोजगारी सिर्जना गर्नका लागि महानगरले सक्दो प्रयास गरेको बताए ।
व्यवसाय प्रबर्द्दन केन्द्रमार्फत् महानगरले उद्यमशीलता चाहनेहरुको लागि तालिम र परामर्श सेवा प्रदान गरिरहेको उनले बताए । रोजगारी सिर्जना र भौतिक विकासका निम्ति महानगर निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने उनको प्रतिवद्धता थियो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रममा अध्यक्ष गोकर्ण कार्कीले उद्यमशील व्यक्तिलाई राज्यले संरक्षण र सहयोग गर्नुपर्ने बताए । ‘राजनीति भनेको पेशा हैन र पेशा र व्यवसाय गर्ने मान्छे नै राजनीतिमा होमिने हो भन्ने हाम्रो मान्यता रहेको छ’,अध्यक्ष कार्कीले भने,‘पछिल्लो समय, बैंकसँग ऋण लिएर व्यापार व्यवसाय गर्ने, रोजगारी सिर्जना गर्ने मान्छेलाई अपराधी करार गर्ने प्रवृत्ति बढेको छ ।’
पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको संचालन संघकी महासचिव शोभा गौतमले गरेकी थिईन कार्यक्रममा पोखरा महानगपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले उत्पादकत्व नबढाएसम्म देशले समृद्धि प्राप्त गर्न नसक्ने बताए ।
मेलाको मुख्य प्रायोजक मणिपाल शिक्षण अस्पतालका कार्यकारी निर्देशक अनिल ओडुविलले गुणस्तरीय स्वास्थ्य सेवामार्फत् पोखरालाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन मणिपाल अगाडि बढेको बताए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिब जमुना वर्षा शर्माले मेला र महोत्सवमार्फत् स्थानीय उत्पादनको प्रबर्द्दन तथा अर्थतन्त्र चलायमान बनाउन पोखरा उद्योग वाणिज्य संघले विशेष भूमिका खेलेको बताइन् ।
समापनको अवसरमा उत्कृष्ट स्टलतर्फ कस्मिक कम्प्यूटर, उत्कृष्ट झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने नेपाल मगर संघ कास्की र देवीस्थान भजन समूह हेम्जालाई सम्मान गरिएको थियो ।
पोखरा लगायत मुलुकको बिभिन्न स्थानका औद्योगिक, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रबर्द्दन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।
‘लगानीको सम्बर्द्दन, उद्योग व्यवसायको प्रबर्द्दन’ भन्ने नारा अनुरुप राष्ट्रिय औधोगिक ब्यापार मेला गण्डकी प्रदेशको व्यवसाय बिस्तार एबम पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित रहेको प्रचार–प्रसार संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य मनोहरि पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।















