Play

आदर्शको ‘आउँछ्यौ तिमी नजरमा..’ गीतको म्युजिक भिडियो सार्वजनिक

गुरुकुल खबर


पोखरा, गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘आउँछ्यौ तिमी नजरमा…’ बोलको गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरिएको छ ।
गीतकार प्रतिष्ठान र रूपा वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले भिडियो सार्वजनिक गरेका हुन् ।

आफ्नै गीतमा आफैँलाई स्वागत गर्दा पनि गीतकारका रूपमा मानिसहरूले आफूलाई नचिन्ने अवस्था आएको अनुभव सुनाउँदै ढकालले गीतकार गीतको जननी भएर पनि छायामा पर्नु दुःखद् भएको विचार राखे । एउटा सुन्दर गीत बन्नका लागि गीतकारदेखि सुरु भएर सम्पूर्ण निर्माण पक्षसम्मको भूमिका रहने भन्दै उनले सबैको भूमिकाको कदर गर्नुपर्नेमा जोड दिए । आदर्शको गीतकारिताबाट आफू प्रभावित भएको ढकालले सुनाए ।

गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार आदर्श पोखरेलले आउँछ्यौ तिमी नजरमा… गीत लेखनदेखि भिडियो निर्माणसम्मको अनुभव सुनाएका थिए । ‘जितमा पनि हारमा झैँ पिट्दै छन् रे ताली…’ बोलको पहिलो गीत एक दशकअगि रेकर्ड गराएका पोखरेलका करिब १ दर्जन गीत रेकर्ड भएका छन् ।

सो गीतमा सन्तोष विक र मनिषा राईको स्वर रहेको छ भने सङ्गीत आदर्श पोखरेलकै रहेको छ । भिडियोमा स्वस्तिका श्रेष्ठ, जीवन सुनार, भुवन विक, जमुना पौडेल बराललगायतको अभिनय रहेको छ । भिडियोको निर्देशन राम बाँस्तोलाले गरेका हुन् ।

कार्यक्रममा गीतकार प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनिया, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ, गायक विनोद बानिया, पोखरा विश्व विद्यालयका अधिकृत नारायण सापकोटालगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

१३ मंसिर २०८२, शनिबार २१:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा