काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाकोबिचमा पार्टीको महाधिबेशनको बिषयमा भेटवार्ता भएको छ। देउवाको आंफ्नो निवासमा आज साँझ जारी भेटबार्तामा महामन्त्री थापाको साथै पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्का र अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि रहेको श्रोतले जनाएको छ । सभापति देउवा र महामन्त्री थापाबीच लामो समयदेखि भेटवार्ता नभएको अबस्थामा अहिले भएको भेटबार्तालाई पनि महत्वका साथ हेरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि सुरू भए पनि महाधिवेशनबारे अझै सम्म सहमति जुट्न नसक्दा पार्टीका नेता कार्यकर्ताहरुमा अन्योल यथाबत छ। सहमति जुटाउन भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पटक पटक केन्द्रीय समिति बैठक डाक्ने र स्थगित गर्ने क्रम पनि जारी छ। जसका कारण बिहिबार बस्ने भनिएको केन्द्रिय समितिको बैठक पनि बस्दै नबसी शुक्रबारको लागि सारिएको छ।
केन्द्रीय समिति बैठकअघि सभापति देउवा पनि नेताहरूसँग छलफल गरी सहमति जुटाउन क्रियाशील छन्। यसै क्रममा सभापति देउवाले बिहिबार नै आफूनिकट केही पदाधिकारी र केही पूर्वपदाधिकारीहरूसँग पनि भेटवार्ता गरेर पुष मसान्तसम्ममा महाधिबेशन गर्ने गरि मध्यमार्गी प्रस्ताब ल्याउनुपर्ने बताएको बुझिएको छ।
यस अगाडी महामन्त्री थापाले पनि कात्तिक १८ को केन्द्रीय समिति बैठकमा पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्नुपर्ने भन्दै कार्यतालिका पेस गरेका थिए। पुसभित्रै नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको विकल्प नहुने कुरामा थापाले निरन्तर जोड दिंदै आएका छन।
तर सभापति देउवा भने नियमित महाधिबेशनको पक्षमा रहँदै आएको र विशेष महाधिवेशनका पक्षमा भने नरहेको अबस्था कायम छ। सभापति देउवा महामन्त्री थापाले केन्द्रीय समितिमा प्रस्ताव गरेको सोही कार्यतालिकाको वरपर १५ औं महाधिवेशन गर्न तयार देखिएको अवस्थामा उनले महामन्त्री थापालाई कुराकानी गरेको स्रोतको भनाइ छ।
यसअघि कात्तिक ३० गते सभापति देउवाले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग पनि भेट गरेका थिए। आजै विशेष महाधिवेशन पक्षधरले प्रेस विज्ञप्ति निकालेर यो कार्यसमितिको म्याद थप नगरी नियमित महाधिवेशन गरे मान्य हुने नत्र विशेष महाधिवेशनको विकल्प नरहेको उल्लेख गरेका थिए।



















