पोखरा, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यहि मंसिर ११ गते बिहीबार बस्ने भनिएको बैठक बस्दै बस्न नपाउंदै स्थगित भएको छ बिहिबार बस्ने भनिएको बैठक मङ्सिर १२ गते शुक्रबारको लागि सारिएको छ
नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले प्रेषित गरेको सुचनामा बिहिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक मंसिर १२ गते शुक्रबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने उल्लेख छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहने जनाइएको छ ।
नेपाली काँग्रेसमा नियमित वा बिशेष महाधिबेशन मध्ये कुन महाधिबेशन कहिले गर्ने भन्ने बिबाद कायम छ जसका कारण गत असोज २८ गते शुरु भएको केन्द्रीय समितिको बैठक निरन्तर बस्ने र स्थगित हुने क्रम चलिरहेको छ ।
नियमित वा बिशेष महाधिबेशन मध्ये कुन महाधिबेशन गर्ने र त्यो चुनाब अगाडी वा पछाडी गर्ने भन्ने बिषयमा सर्बसम्मत निर्णय गर्न बैठक धकेल्दै गएको कुरा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बताउंदै आएको भएपनि निर्णय प्रक्रियामा लामो समय लगाइएको भन्दै पार्टीको महामन्त्री गगन थापा पक्षधर नेता कार्यकर्ता रुष्ट बनेका छन ।

यसैबीच, बिशेष महाधिबेशन पक्षधर कार्यकर्ताहरुले बिहिबार दिउँसो काठमाडौँमा भेला समेत आयोजना गरेका थिए राष्ट्रिय सभागृहमा आयोजना गरिएको उक्त भेलामालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता ओमकार श्रेष्ठले पार्टीकै केही पदाधिकारीहरूले महाधिवेशन रोकेको आरोप लगाए । उनले भने, “अहिलेको अवस्थामा महाधिवेशनको विकल्प छैन ।”
कांग्रेसका अर्का नेता गुरुराज घिमिरेले बीसौँ वर्ष सत्ताको चास्नीमा डुबेकाले पार्टीका योद्धाको हस्ताक्षरलाई नक्कली भन्ने अधिकार नभएको बताए । उनले भने, “कसको हो नक्कली हस्ताक्षर ? निकाल्न हामी चुनौती दिन्छौँ । पार्टीका साथीहरूको योगदानका आधारमा पदमा बसेर साथीहरूको आग्रहलाई लल्कार्न पाइँदैन ।”
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गरेका थिए । आजको उक्त सभाका वक्ताहरुले विशेष महाधिवेशनमा जोड दिए ।















