लेखनाथ, कास्की जिलाको लेखनाथ क्षेत्रका ब्यबसायीहरुको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुसको पहिलो साता देखि २१औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र ने.उ.वा. महासंघ गण्डकी प्रदेशको सहआयोजनामा उक्त महोत्सव संचालन गरिने भएको हो ।
महोत्सबको तयारी सम्बन्धमा जानकारी दिने उद्देश्यले आईतबार आयोजित पत्रकार सम्मेलनमा पुसको ३ गते देखि १४ गते सम्म लेखनाथको तालचोकमा २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सव आयोजक समितिका मूल संयोजक जानुका पराजुली अधिकारीले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको जानकारी दिईन।
लेखनाथ महोत्सबमा यस पटक करिब ३ सय ३५ वटा स्टल राखिने भएको छ यस बर्ष दुई लाख पचास हजारभन्दा बढि दर्शकले महोत्सब अवलोकन गर्ने र करिब ९ करोड रुपैया बरावरको आर्थिक कारोबार हुने अनुमान आयोजकको रहेको छ । महोत्सवमा करिब ९५ लाख रुपैया आम्दानी हुने भएपनि महोत्सव सम्पन्न गर्नमा करिब ८५ लाख रुपैया खर्च हुने र १० लाख रुपैया मात्र बचत हुने अनुमान गरिएको संघले जनाएको छ।

‘महोत्सव, लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने नाराका साथ आयोजना गरिने लेखनाथ महोत्सव २०८२ अन्तर्गतका बिभिन्न कार्यक्रमहरुलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति, ४३ वटा बिभिन्न उपसमिति गठन गरिएको जनाइएको छ। यसैगरी महोत्सबको लागि ६६ सदस्यीय कार्यसम्पादन समिति र तिन सय सदस्यीय मुल समारोह समिति गठन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
महोत्सबको तयारी स्वरूप यस अगाडी पनि बिभिन्न समिति र उपसमितिको बैठक सम्पन्न भएको छन महोत्सब अन्तर्गत गठित स्वास्थ्य ब्यबस्थापन उपसमिति र संघसंस्था समन्वय उपसमितिको बैठक बसेर उपसमितिको जिम्मेवारी अन्तर्गतको काम प्रभावकारी ढंगले सम्पन्न गर्न आबश्यक तयारी समेत गरिएको बताइएको छ

स्थानीय उत्पादनको प्रबर्द्दन एबम राष्ट्रिय र अन्तराष्ट्रिय उत्पादनको बजारीकरणको साथै स्थानीय भेषभुषा र संस्कृतिको प्रबर्द्दनमा महोत्सब उपयोगी साबित हुँदै आएको अध्यक्ष पराजुलीले बताइन । महोत्सवको माध्यबाट यस क्षेत्रको कृषि उत्पादन र महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं विक्रि गरि लेखनाथ क्षेत्रको पहिचान राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा फैल्याउने बिश्वास पनि उनले ब्यक्त गरिन ।
पत्रकार सम्मेलनमा महोत्सवका प्रचार प्रसार संयोजक ध्रुवबावु भटृराईले विषम आर्थिक परिवेशमा मेला महोत्सव आयोजना गरिनु आफैंमा चुनौतिपुर्ण रहेको वताउँदै व्यवसायीहरुको खस्किएको मनोबल उकास्न र आर्थिक रुपमा यस क्षेत्रलाई चलायमान गराउन पनि महोत्सब आबश्यक रहेको बताए। उनले बजारलाई गतिशिल बनाउँदै आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने उद्धेश्यले पनि महोत्सवको आयोजना गरिएको वताए ।
महोत्सव अन्तर्गत औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरुको प्रदर्शनी एबम बिक्रि, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरुको बिक्रि वितरण, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतका सामानको बिक्रि र प्रदर्शनी महोत्सबमा गरिने छ।
यसका साथै बिभिन्न संघ संस्थाले प्रदान गर्ने वित्तिय तथा अन्य सेवाहरुको जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, दुग्ध जन्य उत्पादन सहित अन्य सामानको विक्रि र प्रदर्शनी समेत गरिने जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो।
महोत्सवस्थलमा भगवान गौतम बुद्धको प्रतिमा राखिने भएको छ यसका साथै विजनेश टक शो र मोटीभेसनल स्पिच कार्यक्रम, जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित कार्यक्रम, शैक्षिक प्रदर्शनीहरु, विद्यालय स्तरीय कार्यक्रम, महोत्सव प्रर्वद्धन सम्बन्धी टिकटक प्रतियोगिता, महोत्सव प्रर्वद्धन कन्टेन्ट क्रिएशन प्रतियोगिता, सुगम संगित तर्फ पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रिय स्तरका कलाकारहरुवाट लोकदोहोरी तथा स्टेज सो (हास्यव्याङ्य) कार्यक्रम, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार लगायतका गतिबिधि पनि महोत्सब अन्तर्गत समाबेश गरिएको बताइएको छ ।
महोत्सव अवलोकन गर्ने सर्वसाधारणहरुको लागी एक सय रुपैयाको प्रवेश शुल्क लिने निर्णय गरेको लेखनाथ उद्योग बाणिज्य संघले विद्यार्थीहरुको लागी ५० र बेलुकापख हुने सुगम संगित कन्सर्टमा प्रवेशको लागि दुई सय रुपैया शुल्क तोकेको छ। महोत्सवबाट संकलित रकम नवउद्यमी उत्पादनमा पहल, उद्यमशिलता विकास, औधोगिक क्षेत्र निर्माणको लागि पहल, पर्यटन प्रर्वद्धनमा विकास साथै सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।
महोत्सवको मुख्य प्रायोजक गृहलक्ष्मी ग्याँस कम्पनी प्रालिका महाप्रबन्धक भिमराज लामिछानेले लेखनाथ महोत्सवको लागि लेखनाथ उद्योग बाणिज्य संघसंग सहकाय गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरेका थिए । लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन महासचिब भरतराज ओझाले गरेका थिए भने संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले महोत्सब सफल पार्न सबैको सहयोग आबश्यक रहेको बताएका थिए ।पत्रकार सम्मेलनमा पत्रकारहरु सरिता तिमिल्सीना पँगेनी र रमेश पौडेलले महोत्सवमा स्थानीय उत्पादनको प्रर्वद्धन र व्यवसायीहरुलाई उत्प्रेरीत गर्ने खालका कार्यक्रमहरु गर्नसके राम्रो हुने बताएका थिए।















