काठमाडौँ, नेपाली काँग्रेसको संस्थापन समूहका २४ केन्द्रीय सदस्यहरुले राखेको ७ बुँदे मागमा पार्टीको दुईजना पूर्वपदाधिकारीहरुले समेत ऐक्यबद्धता जनाएका छन् । गत कात्तिक २६ गते संस्थापन समूहका २४ केन्द्रीय सदस्यहरूले पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया मंसिर भित्र सुरु गर्नुपर्ने लगायतका ७ बुँदे माग पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएकोमा पार्टीका दुई पुर्व पदाधिकारीहरु मध्ये पूर्वउपसभापति विजयकुमार गच्छदार र पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पनि ऐक्यबद्धता जनाएको बुझिएको छ।
‘हाम्रो ७ बुँदे मागमा संस्थापन पक्षमा रहेका दुई पूर्वपदाधिकारी विजयकुमार गच्छदार र डा. शशांक कोइरालाले आज सोमबार ऐक्यबद्धता जनाउनुभएको छ।’ कांग्रेस केन्द्रीय सदस्य आंगेलु शेर्पाले केहि संचारकर्मीसंग भने, ‘त्यसबाहेक कार्यसम्पादन दुई सदस्यहरु मिन बिश्वकर्मा र श्यामकुमार घिमिरेले पनि ऐक्यबद्धता जनाउनुभएको छ ।’
२४ केन्द्रीय सदस्यको सोमबार ललितपुरमा तीन घण्टा बैठक बसेको थियो । बैठकले अभियानलाई थप सशक्त बनाउने निर्णय गरेको शेर्पाले जानकारी दिए । साथै अभियानमा थप १० केन्द्रीय सदस्य थपिन चाहेको पनि उनले बताए । २४ केन्द्रीय सदस्यहरूको ज्ञापनपत्रमा सरकारले फागुन २१ गतेका लागि निर्धारण गरेको प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मङ्सिर १५ गतेभित्र सुरु गर्नुपर्ने उल्लेख छ ।
महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समय सीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने कुरा ज्ञापनपत्रमा उल्लेख छ । साथै युवा पुस्ताहरूको उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुने गरी विधानमा संशोधन गर्नुपर्ने, पार्टीको आन्तरिक निर्वाचन समितिलाई अविलम्ब पूर्णता दिनु पर्ने, १५औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाती, थारु, मधेसी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपाङ्गता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने कुरा पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
यसैगरी स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने र संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोण सहित पार्टीको अवधारणा निर्माण गर्ने उल्लेख छ ।















