पोखरा, पोखराको प्रतिभा माविले चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस शैक्षिक कार्यक्रम २०८२/०८३ का लागि सञ्चालित एकीकृत प्रवेश परीक्षामा नाम निकाल्ने विद्यार्थीलाई बधाईका साथ सम्मान गरेको छ । आयोगले मंगलवार प्रवेश परिक्षा नतिजा सार्वजनिक गर्दै योग्यताक्रममा परेका नामसूची प्रकाशित गरेको थियो । ८ हजार ७ सय ७२ जना परीक्षार्थीहरूले नाम निकालेकोमा उत्कृष्ट १०० भित्र प्रतिभा एकै विद्यालयबाट ५ विद्यार्थी परेका छन् ।
टप १०० मा नाम निकाल्ने विद्यार्थीहरू युनिक पौडेल, भिष्म रेग्मी, समीर सुवेदी, दिक्षा सुनार र विनेश तिम्सिनाका साथै सफल गुरुङलाई प्रतिभा माविले विहीबार एक समारोहकाबीच बधाई ज्ञापनका साथै सम्मान गरेको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीले सफलता चुमेको दिन विद्यालयको लागि सबैभन्दा खुशीको दिन रहने बताए । पवित्र सेवा समर्पित भावनाको शिक्षा आर्जन गरेर देशमै बसेर उत्कृष्ट चिकित्सकीय कर्म गर्न पनि पौडेलले सुझाए ।
‘शिक्षक र विद्यार्थीको मेहनत, विद्यालय र अभिभावकको साथले नै यस्तो उत्कृष्टता मिल्दछ । यस्तो सफलतालाई निरन्तरता दिन अझै मेहनतको खाँचो छ । एउटै सफलताले जीवनमा पुग्दैन ।’ अध्यक्ष पौडेलले भने – ‘एकै विद्यालयबाट ६ जनाले नाम निकाल्नु भनेको करीब ४ करोड छात्रवृत्ति प्राप्त गर्नु हो । यस्तै उपलब्धिले प्रतिभा मावि प्रदेश मात्र नभएर देशमै उत्कृष्ट विद्यालयको सुचीमा पर्न सफल छ ।’
विद्यालयका प्राचार्य किरण सापकोटाले पोखरालाई अब केवल पर्यटनको राजधानी नभई शिक्षाको राजधानीका रूपमा चिनाउने सपना प्रतिभा माविबाट साकार हुँदै गएको बताए । ‘प्रत्येक वर्ष प्रतिभाका विद्यार्थीहरूले सुन्दर सपना पछ्याउँदै उत्कृष्ट सफलता हात पारिरहेका छन् ।’ उनले भने ‘यस विद्यालयका मेधावी विद्यार्थी, सहयोगी अभिभावक र गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षकहरूले आजको गौरवपूर्ण क्षण सम्भव बनाएका हुन् ।’
सापकोटाका अनुसार देशभरका विद्यालयबाट १०० जनाभित्र ५ जनाले एकै वर्षमा प्रतिष्ठित विश्वविद्यालयमा नाम लेख्नु विद्यालयका लागि ऐतिहासिक उपलब्धि हो। उनले थपे ‘प्रतिभाको जीवन अनन्त रहोस् । यहाँका विद्यार्थीहरूको मेहनत, कर्म र उपलब्धिले विद्यालयको नाम सुनौलो अक्षरमा अंकित भएको छ ।’
कार्यक्रमका प्रमुख अतिथि मणिपाल शिक्षण अस्पताल पोखराका मेडिकल डाइरेक्टर प्रा. डा. अभिषेक मास्केले विद्यार्थीहरूलाई भावी चिकित्सकका रूपमा देश र समाजको सेवा गर्ने प्रेरणा प्रदान गरे । ‘प्रतिभा माविले गुणस्तरीय शिक्षाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । अब पढाइका लागि काठमाडौं जानुपर्ने आवश्यकता छैन भन्ने कुरा प्रतिभाले प्रमाणित गरेको छ ।’ उनले भने – ‘यहाँ प्रदान गरिएको शिक्षा नै गुणस्तरीय र भविष्यमुखी छ ।’
डा. मास्केले विद्यार्थीहरूलाई जुनसुकै पेशा वा व्यवसाय रोजे पनि कक्षा ११ र १२ बाटै आफ्नो ‘रोडम्याप’ तयार पार्न सुझाए । ‘डाक्टर बन्नु केवल पेशा होइन, यो मानवता र सेवासँग सम्बन्धित जिम्मेवारी हो ।’ उनले थपे – ‘यहाँ सिकेका मूल्य र ज्ञानका आधारमा समाजका लागि उत्कृष्ट चिकित्सक उत्पादन हुने विश्वास मैले लिएको छु ।’
अभिभावक वासुदेव तिमिल्सिनाले प्रतिभा मावि सबैका लागि गौरवको विद्यालय बनेको बताए । उनले सबैभन्दा ठूलो कुरा अनुशासन भएको बताउँदेै अनुशासनले नै सफलता र अवसरका सबै बाटो खोल्ने उनले विश्वास व्यक्त गरे । उनले विद्यालयले प्रदान गरेका अवसरहरूको सदुपयोग गर्न सक्नु विद्यार्थीहरूको जिम्मेवारी भएको बताए । उनले विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गरे ।
सम्मानित विद्यार्थी समीर सुवेदीले गुणस्तरीय शिक्षा प्राप्तिका लागि अब काठमाडौंमै जानुपर्छ भन्ने सोच प्रतिभा माविले बदलिदिएको बताए । उनले भने ‘कडा मेहनत गर्नुस् । सफलता हाँसिल गर्न सजिलो हुन्छ । मेहनत गरे भाग्यले पनि साथ दिन्छ । त्यसैले भाग्यभन्दा कर्ममा विश्वास गर्नुपर्छ ।’ उनले शिक्षकहरूको निरन्तर प्रेरणा र विद्यालयले प्रदान गरेको गुणस्तरीय शिक्षाका कारण नै भाईबहिनीहरूले पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको बताए । सुवेदीले थपे, ’सफलता हात पार्नका लागि आवश्यक गुणस्तरीय शिक्षा प्रतिभा माविले नै प्रदान गर्छ ।



















