पोखरा, स्यांग्जाको पुतलीबजार नगरपालिकाबाट शुरु भएर राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा संचालन भैरहेको मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ ।
पोखरामा केहि दिन अगाडी सम्पन्न मुक्तिनाथ विकास बैंकको १९ औं वार्षिक साधारणसभाले बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने प्रस्ताव पारित गरेको हो ।
मुक्तिनाथ विकास बैंकका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजी ९ अर्ब ३ लाख रुपैयाँ पुर्याउने र वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेको बताइएको छ ।

‘बाणिज्य बैंकमा स्तरोन्नति गर्नको लागि आबश्यक पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने र नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नतिको लागि प्रक्रिया तत्काल अगाडी बढाउन साधारण सभाले बैंकको सञ्चालक समितिलाई अख्तियारी दिएको बैंकका पुर्व अध्यक्ष एबम पुर्व प्रमुख कार्यकारी अधिकृत भरत ढकालले गुरुकुल खबरलाई जानकारी दिए ।
साधारण सभाले सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै बैंकका सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांस दिने प्रस्ताव स्वीकृत गरेको छ । उक्त लाभांस मध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांस रहेको बैंकले जनाएको छ ।




















