पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलनमा कास्कीको रुपा गाउँपालिका–५ रामादीका ३१ वर्षीय प्रहरी सहायक हवल्दार अमृत गुरुङको हत्यामा संलग्न एक प्रदर्शनकारीलाई जेल चलान गरिएको छ । ७ वर्षअघि नेपाल प्रहरीमा भर्ना भएका गुरुङ प्रहरी प्रभाग कोटेश्वरमा सहायक हवल्दारको रुपमा कार्यरत थिए
उनलाई भदौ २४ गतेको दिन आन्दोलनकारीहरुले कार्यालयभित्रबाट नियन्त्रणमा लिई बाहिर सडकमा ल्याई रड र चक्कुले हानेर निर्ममतापुर्बक हत्या गरेका थिए । सोहि क्रममा प्रहरी सहायक हवल्दार मनीषसिंह ठगुन्नालाई पनि आन्दोलनकारीहरुले हत्याको प्रयास गरेका थिए ।
प्रहरी सहायक हवल्दार गुरुङको हत्याको आरोपमा पक्राउ परेका कैलाली जिल्लाको लम्किचुहा घर भई काठमाडौं बस्दै आएका १९ वर्षीय अनुपम भण्डारीलाई अदालतको आदेश अनुसार जेल चलान गरिएको हो ।
भण्डारीलाई जिल्ला अदालत काठमाडौंले मंगलबार जेल चलानको आदेश दिएको हो ।गत असोज १३ गते कैलालीमा प्रहरीले पक्राउ गरेका भण्डारीले बयानको क्रममा प्रहरी हवल्दार गुरुङको हत्याको अभियोग स्वीकार गरेका छन् ।
गुरुङलाई आन्दोलनकारीले ढुंगामुढा तथा फलामको रड र चक्कुले प्रहार गरेर सडकमा घिसार्दै लागेको र अचेत र रगताम्मे अवस्थामा सडकमा छाडेर आंफ्नो कोठामा फर्किएको भण्डारीले बयान दिएका थिए ।
गुरुङलाई उपचारका लागि बीएण्डबी अस्पताल ग्वार्कोमा लगेका थिए । सोही दिन दिउँसो पौने ५ बजेतिर उनको मृत्यु भएको अस्पतालले जानकारी गराएको थियो ।उनको परिवारमा २२ महिनाको छोरा, श्रीमती, बुबा र हजुरबुबा रहेको बुझिएको छ ।
जेल यात्रामा गएका भण्डारी मेगा कलेजबाट हालै १२ कक्षा उत्तीर्ण गरेका युवक हुन् । आफूले बैंग्लोरमा गएर २ हप्ता क्रिकेटको तालिम लिएको र शान्तिनगरस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा भर्ना भई क्रिकेट सिकिरहेको उनले बताएका छन् ।




















