पोखरा, नेपालको तराई क्षेत्रमा बसोबास गर्ने अधिकांशले मनाउने महत्वपूर्ण चाड तथा मिथिला क्षेत्रको सबैभन्दा ठुलो पर्व छठ औपचारिक रूपमा सकिएको छ। शनिबारदेखि शुरु भएको पर्व पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर रहन्छ। आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामलजस्ता अन्नको व्यवस्था गरेर त्यसलाई धोई-पखाली घरकै जाँतोमा पिसेर त्यसको पिठोबाट छठका सामग्रीहरू बनाउने गरिन्छ।
चार दिनसम्म मनाइने यस पर्वमा बर्तालुले दुई दिनसम्म अन्नपानी समेत नाखाएर भोकै बस्ने गर्दछन।छठ पर्वअन्तर्गत पहिलो दिन ‘नहाय–खाए’, दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खाने ‘खरना’ को रुपमा मनाइन्छ।
त्यस्तै, मूल दिन अर्थात् तेश्रो दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको व्यवस्था गरी साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिने र अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर पर्वको समापन गरिएको छ ।
मिथिलांचलको ठुलो पर्व भनिएपनि पछिल्लो समय यो पर्व देशका बिभिन्न स्थान र बिदेशमा समेत मनाउन थालिएको छ पोखराको पनि फेवाताल किनार, नदीपुरको नारायणस्थान मन्दिर परिसर, सेती नदी र कालीखोलको संगमस्थल रिठ्ठाघाट त्रिवेणीधाम र माछापोखरी किनार गरि चार स्थानबाट अर्घ दिएर छठ पर्व मनाइएको छ । ति स्थानबाट सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थिईयो । सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व अन्तर्गत सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको हो ।
यस वर्षको छठमा पोखरामा करिब ५ हजार व्रतालु तथा भक्तजनको उपस्थिति रहेको आयोजकको दाबी छ । अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भएर उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिन्छ । छठमा छठी माताको पूजा जलाशयहरूमा गरिन्छ । नेपाल–भारत (एनवी) व्यवसायी समितिका पूर्वअध्यक्ष भुनेशकुमार ठाकुरले समितिले निर्माण गरेका फेवा किनारस्थित पार्वती छठघाटमा नेपाल भारत व्यवसायी छठ पूजा समितिको आयोजनामा छठ पूजा हुँदै आएको जानकारी दिए ।
२०६८ सालदेखि केदारेश्वर मन्दिरको घाटमा छठ पूजा गर्न थालिएकोमा शुरुवातमा तराईवासी र भारतीयले मात्र पूजा गर्ने गरेको भए पनि अहिले पहाडी दिदीबहिनीले समेत पूजा गर्ने गरेको उनको भनाई छ । ‘२०४९ सालदेखि म पोखरामा बस्दै आएको छुँ । मैले त्यही बेलादेखि नै मनाउन लागेको हुँ,’ उनले भने, ‘२५ वर्ष अघि म एउटा समिति बनाएर त्यसेको अध्यक्ष भएर मनाउन सुरु गरियो । १७ वर्ष अघि नेपाल–भारत (एनवी) व्यवसायी समिति दर्ता गरी निरन्तर छठ मनाउँदै आएका छौ ।’
सुरुमा तालबाराही मन्दिर नजिक पूजा गरिने गरिएको भए पनि त्यति बेला व्यवस्थापनसमेत राम्रो नहुँदा सहभागिता थोरै हुने गरेको उनले सुनाए । अहिले सहभागिता उल्लेख्य हुने गरेको उनको भनाइ छ । पूजामा तराईका विभिन्न जिल्लाका साथै भारतबाट व्यापार तथा रोजगारका लागि नेपाल आएर परिवारसहित बसोवास गर्दै आएकाहरुको ठुलो संख्यामा सहभागिता रहेको थियो ।





















