पोखरा, लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले सोमबार पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको छ। चाडपर्व र बिदाका कारण पोखरामा रगतको अभाव हुन लागेको अवस्थालाई मध्यनजर गर्दै क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पास्ट डिष्ट्रिक गभर्नर राम बसेलले पहिलो रक्तदाता, क्लबका पूर्व अध्यक्ष दयाशंकर तौतमलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यस अवसरमा बोल्दै बसेलले लायन्स क्लबका सदस्यहरू सधैं अग्रपंक्तिमा रही सामाजिक सेवामा समर्पित रहेको र रगतको अभावमा जीवन जोखिममा परेकालाई बचाउन यस्ता कार्यक्रमको आयोजना गरिएको बताए।
डिस्ट्रिक ब्लड डोनेशन कोअर्डिनेटर दिलबहादुर थापाले चाडपर्व र आपतका बेला पनि लायन्सहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका भन्दै यस्तो अभियान उदाहरणीय रहेको बताए। कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष वासुदेव कोइराला, निवर्तमान अध्यक्ष सूर्य पोखरेल, र पूर्व अध्यक्षहरू समेतले रक्तदान गरेका थिए। त्यस्तै, रक्तदातासंग संयोजन र सहभागिता सुनिश्चित गर्न विशेष पहल र योगदान ईन्द्रबहादुर थापा र पूर्व अध्यक्ष रुकबहादुर गुरुङले गरेको क्लबले जनाएको छ ।
कार्यक्रमा क्षत्री समाज नेपालका महासचिव कृष्णबहादुर थापा, आरदायूका हरिश्चन्द्र शर्मा, पत्रकार श्याम कुँवर, राजाराम पौडेल, आरजू विष्ट सल्यानी, तीर्थ केसी, रेडक्रसकर्मी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम क्लबका अध्यक्ष नारायणबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव दिपक कुमार गुरुङले गरेका थिए। कार्यक्रममा संयोजक अर्जुन ज्ञवालीले रक्तदाता र सहयोगी प्रति आभार प्रकट गरेका थिए ।





















