दुबई, आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको हो ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको यूएसएका लागि मध्यक्रमका ब्याट्सम्यान मिलिन्द कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ७० रनमा नटआउट रहे । उनले ५० बलको सामना गर्दै ६ चौका र दुई छक्का प्रहार गरे ।
ओपनर स्मित पटेलले इनिङ्सको जग बसाल्दै १०० बलमा ७५ रन को महत्त्वपूर्ण योगदान दिए । उनले ९ चौका प्रहार गरे । अर्का ब्याट्सम्यान साइतेजा मुक्कमल्लाले ५८ बलमा तीन चौका र एक छक्कासहित ४२ रन बनाए । कप्तान मोनान्क पटेलले १७ बलमा १० रन जोडे । शुभम रञ्जानेले १९ रन र शायान जहांगीरले ११ रनको योगदान दिए ।

नेपालको बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ५६ रन खर्चेर दुई विकेट लिए । यस्तै, सोमपाल कामीले नौ ओभरमा ५६ रन दिएर एक विकेट र आरिफ शेखले पाँच ओभरमा १९ रन खर्चेर एक विकेट लिए ।
यो लिग–२ अन्तर्गतको नेपालको पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृंखला हो । यसअघि, नेपालले प्रतियोगिताअन्तर्गत गत जुनमा स्कटल्यान्डमा घरेलु टोली र नेदरल्यान्ड्ससँग खेलेको थियो । अमेरिका भने नेपाललाई पराजित गर्दै शीर्ष स्थानमा उक्लने प्रयासमा हुनेछ । तालिकाको दोस्रो स्थानमा रहेको अमेरिकाले २० खेल खेल्दा २८ अंक बनाएको छ ।
यता, तालिकाको सातौँ स्थानमा रहेको नेपालले भने १६ खेलमा १२ अंक बनाएको छ । लिग–२ मा आठ राष्ट्रको सहभागिता छ । जसको चार शीर्ष टिमले सन् २०२७ को क्रिकेट विश्वकपको छनोटमा सिधैँ स्थान बनाउने छन् । त्यसैगरी, बाँकी चार टिमले भने छनोटको निम्ति ‘प्ले अफ’ चरणमा स्थान बनाउनेछ ।















