Play

तिहार पर्वको मुख्य दिन आज: लगाइयो भाईटिका, सकियो यस बर्षको पर्व ‘तिहार’ (फोटो फिचर)

गुरुकुल खबर


पोखरा,  प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन बिहिबार नेपाल भित्र र बाहिर रहेका नेपाली दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्।

यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।

तिहार पर्वमा टाढा टाढा रहेका दिदि बैनी र दाजुभाईको मिलन हुने र टिका आशिर्बाद सहित उपहारको आदान प्रदान समेत हुने भएकोले पनि यो पर्वलाई महत्वपूर्ण पर्वको रुपमा मानिन्छ ।

नेपालका परिचित डाक्टर भगवान कोइरालाले चालीस बर्षपछि भाइटिकाको दिनमा आँफुहरुका तिन भाइ र तिन दिदिबैनीको भेट भएर संगसंगै टिका लगाउने र भलाकुसारी गर्ने मौका मिलेको भन्दै तिहार पर्वलाई दिदि बैनी र दाजुभाइ बिचको मिलन पर्वको रुपमा पनि लिनुपर्ने बताएका छन ।

बिभिन्न पेशा ब्यबसाय एबम अन्य कामको कारण घरभन्दा टाढा रहेका परिवारका सदस्यहरु तथा दिदि बैनीहरुसंग भेटघाट सहित पारिवारिक पुनर्मिलन हुने र घरमै बसेर मिष्ठान्न परिकार खाने, देउसी भैलो खेलेर रमाइलो गर्ने परम्पराको कारण यो पर्वले परिवारभित्र सन्तुष्टि र खुसि दिलाउने गरेको पोखराका ब्यबसायी एबम बैंकर सुशिलराज पराजुलीले बताए ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिएका छन ।

भाइटीका लगाउन आज दिनभर बाधा नभए पनि साइत खोज्नेका लागि समितिले मध्याह्न ११ः३९ बजेको साइत उत्तम भनी सार्वजनिक गरेको थियो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता अनुसार बिहान ११ः३९ बजे नै टीका लगाइएको थियो ।

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिएका छन् ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा भट्टराईले जानकारी दिए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने तथा दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहीआएको छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाईटिकाको दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरु भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजाआजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ । यसै मान्यता अनुसार खञ्जनेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो ।

भाइटीका लगाएसँगै नेपालीको दोस्रो ठुलो चाडको रुपमा लिईने यस बर्षको तिहार पर्व पनि समाप्त भएको छ। भाईटिकाको दिन बिहान पोखरा लगायत देशका प्रमुख शहरको चहलपहल अत्यन्त कम देखिएको भएपनि टिका लगाउने समय सकिदै गएपछि बजार पुर्ववत रुपमा देखिन थालेको छ। बन्द रहेका पसल र बजार खुल्ने क्रम बढेको छ।

बिभिन्न सरकारी तथा सार्बजनिक कार्यालयहरुमा भने भोलि शुक्रबार तिहारको बिदा रहेको र पर्सि शनिबार परेकोले सोमबार अर्थात छठ पर्वको दिन सम्म चहलपहल कम हुने बताइएको छ। टिका लगाउन आआफ्नो घरमा पुगेकाहरु आफ्नो कर्मस्थल फर्किन लागेकोले पनि सडक र बजारमा चहलपहल सामान्य बन्दै गएको हो ।

६ कार्तिक २०८२, बिहीबार २२:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा