पोखरा, तिहारको मुख्य दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर भाइटिका पर्व मनाइँदैछ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।
यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । शुभ कर्म गर्दा चन्द्रमालाई दाहिने वा सम्मुख पारेर गर्नुपर्ने शास्त्रीय नियम छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् भट्टराईले सुनाए ।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहेको राससले जनाएको छ
अष्ट्रेलियामा भाइटिका लगाइयो
विश्वका बिभिन्न मुलुकमा रहेका नेपालीहरुले स्थानीय समय अनुसार भाईटिका पर्व मनाउने गरेको छन। अमेरिका, बेलायत लगायतका मुलुकमा टिका लगाउने क्रम शुरु नभएपनि अष्ट्रेलियामा रहेका नेपालीहरुले स्थानीय समयानुसार ११.३९ बजे भाईटिका लगाएका छन। अष्ट्रेलियाको सिड्नी लगायतका बिभिन्न राज्यमा अध्ययन गर्न जाने नेपालीहरुको साथै बिभिन्न पेशा र ब्यबसायमा संलग्न नेपालीहरुको संख्या ठुलो रहेको छ ।

नेपालीहरुको संख्या बढेसंगै नेपालीहरुका परम्परागत चाडबाड मनाउने प्रचलन बिदेशमा पनि बढ्दै गएको छ कुनै स्थानमा सामुहिक रुपमा त कुनै स्थानमा आफ्नो घर परिवार वा आफन्तसंग बसेर बिभिन्न चाड मनाउने प्रचलन सबैजसो मुलुकमा रहेका नेपालीहरुमा बढ्दै गएको छ।
अष्ट्रेलियाको सिड्नीमा लामो समयदेखि बसोबास गर्दै आएकी ईशा बरालले आफ्नो पारिवारिक नातासम्बन्ध रहेका दाजुभाई दिदीबहिनी तथा भावनात्मक हिसाबले दाजुभाई दिदीबहिनीको नाता कायम गरेर पनि टिका लगाउनेहरु वा चाड मनाउनेहरुको संख्या बढ्दै गएको गुरुकुल खबरलाई जानकारी दिईन।

बरालको परिवार करिब तिन दशक देखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आएको छ कुनै बर्ष नेपालबाट पुग्ने आफन्त र दाजुभाई दिदीबहिनि समेत हुँदा अझ रमाइलो लाग्ने तर कुनै बर्ष सानो संख्यामा भएपनि चाडबाड मान्नुपर्ने अबस्था रहेको बरालले बताइन।
यसैगरी मेलबर्नमा बसोबास गर्ने नेपालीहरुले पनि स्थानीय समय अनुसार ११ ३९ को शुभसाईतमा भाइटिका लगाएको छन। मेलबर्नमा पनि नेपालीहरुको संख्या उल्लेखनीय रहेको छ ।
सिड्नीमा आफ्नो बैनी सुगम पराजुलीसंग टिका लगाउन पुगेका ओमप्रकाश पराजुलीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्नको लागि पनि टिका लगाउन आँफु सिड्नीबाट मेलबर्न आइपुगेको बताए।

आफ्नो बैनिसंग टिका लगाउन पाइने मात्र नभएर मेलबर्नमा रहेका आफन्त र नेपाली दाजुभाई संग भेटघाट गर्न पनि पाइने अनि आफ्नो परम्परा र संस्क्रृतिको जगेर्ना पनि हुने भएकोले पनि आँफु मेलबर्न आएर टिका ग्रहण गरेको उनले बताए ।





















