काठमाडौँ, इजरायल र हमासबीच युद्धविराम भएसँगै गाजामा बन्दी बनाइएका जीवित बन्दीमध्ये रिहा हुने अपेक्षा गरिएका २० जनाको सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम समावेश भएको छैन । सम्झौता अन्तर्गत इजरायलले २२ जना अझै जीवित रहेको विश्वास गरेको थियो ।
यद्यपि बाँकी दुई जना जीवित बन्धकमा जोशी पनि हुनसक्ने अनुमान कतिपयले गरेको भएपनि इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले हमासको हमलापछि इजरायलबाट अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको बताएका छन्।
राजदूत पण्डितका अनुसार आइतबार नेपाली समय अनुसार साँझ करिब साढे ७:३० बजे इजरायली डिफेन्स फोर्सकी महिला कर्मचारीले दूतावासमा फोन गरेर विपिन जोशी जीवित नरहेको जानकारी गराएकी थिइन्।
उक्त सूचना प्राप्त भएपछि दूतावासले तुरुन्तै जोशीका परिवारसँग सम्पर्क गरेको उनले बताए। ‘हामीलाई फोन गरेर जानकारी दिइयो कि विपिन अब जीवित छैनन्,’ राजदूत पण्डितले भने, ‘त्यसपछि अमेरिकामा रहेकी उनकी बहिनी पुष्पा जोशी र महेन्द्रनगरस्थित ठुलोबुबाका छोरा किशोर जोशीसँग भिडियो कन्फ्रेन्समार्फत सम्पर्क गरी जानकारी गराइयो।’
हमास समूहले उनलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो। उनी सोही वर्ष मंसिरसम्म जीवित रहेको भिडयो सार्वजनिक भएको थियो। हमास समूहले आज उसको कब्जामा रहेका २० जनालाई इजरायल समक्ष हस्तान्तरण गर्दैछ।
चौबिस वर्षीय नेपाली युवा विपिन आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुगेका थिए । उनि कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत रहेको अबस्थमा अपहरणमा परेका थिए ।
त्यहाँ कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाका क्रममा फ्याँकिएका ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपिन घाइते भएर अपहरणमा परेको बताइन्छ।
यसैबीच इजरायल र हमास बिच युद्धविरामको सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न भएपछि हमासले बन्धक बनाएका दर्जनौ बन्दीहरु मुक्त हुने क्रममा रहेका छन । यी बन्धकहरू सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको ऐतिहासिक आक्रमणका क्रममा अपहरणमा परेका थिए । उक्त आक्रमणलाई इजरायलको इतिहासकै सबैभन्दा घातक घटना मानिन्छ ।
हमासको सशस्त्र शाखाले सोमबार आफ्नो टेलिग्राम च्यानलमार्फत रिहा हुने बन्धकहरूको नामावली सार्वजनिक गरेको छ । नामावलीमा समावेश २० जनामध्ये अधिकांशलाई हमासले गाजापट्टीका विभिन्न स्थानमा बन्दी बनाएको थियो । तीमध्ये केही सैनिक, केही नागरिक र केही विदेशी नागरिकता भएका इजरायली छन् । रिहा हुने बन्धकहरूका परिवारहरू तेल अभिव र जेरुसेलममा भेला भई आफ्नो प्रियजनको सुरक्षित फिर्तीका लागि आभार व्यक्त गरिरहेका छन् ।
रिहा हुने बन्धकहरूमा मतन एङ्ग्रेस्ट, गली र जिव बर्मन, एल्काना बोबोट, रोम ब्रास्लाभस्की, निम्रोद कोहेन, डेभिड र एरियल कुनियो, इभ्यातार डेभिड, गाइ गिलबोआ दलाल, म्याक्सिम हर्किन, इटन हर्न, सेगेव काल्फोन, बार कुपरस्टीन, ओमरी मिरान, एटान मोर, योसेफ हैम ओहाना, एलोन ओहेल, अविनातन ओर र मतन जाङ्गाउकर रहेको बताइएको छ ।
यी सबै व्यक्तिहरू हमासद्वारा विभिन्न समयमा सार्वजनिक गरिएका भिडियोहरू र प्रत्यक्षदर्शी बयानहरूमा देखिएका थिए । उनीहरूमध्ये धेरैजना सुपरनोभा सङ्गीत महोत्सवका सहभागी, सैनिक वा सीमावर्ती क्षेत्रका बासिन्दा थिए ।
इजरायली अधिकारीहरूले बन्धकहरूको सुरक्षित फिर्तीका लागि आफ्नो कूटनीतिक प्रयास जारी रहेको बताएका छन् । इजरायली राष्ट्रपतिका अनुसार युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा यी २० जनाको रिहाइ हुनेछ भने बाँकी बन्धकहरूको फिर्तीका लागि छलफल अघि बढ्नेछ ।
हमास र इजरायलबीचको यो सम्झौता सन् २०२३ अक्टोबरमा सुरु भएको दुई वर्षभन्दा बढीको युद्ध अन्त्यतर्फको एक महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । ट्रम्पले प्रस्ताव गरेको २०–बुँदे शान्ति योजनाको प्रारम्भिक कार्यान्वयनका रूपमा यो आदान प्रदान सम्पन्न हुन लागेको हो।
इजरायली सरकारका अधिकारीहरूका अनुसार ‘यी नागरिकहरूको फिर्ती हाम्रो सामूहिक दृढता र अन्तर्राष्ट्रिय साझेदारीको परिणाम हो। गाजाबाट आफ्ना प्रियजनहरू सुरक्षित फर्कँदा देशभर राहत र खुसीको वातावरण छाएको छ ।