पोखरा, गुडिरहेको गाडीमा बसिरहेका एक युवकको रहस्यमय ढंगले मृत्यु भएको छ । पश्चिम नेपालको मुगुबाट नेपालगन्ज आउँदै गरेको गाडीमा यात्रा गरिरहेका २२ वर्षीय युवक मृत फेला परेका छन् ।
जुम्लाको हिमा गाउँपालिका–१, निवासी २२ बर्षीय गणेश रावत गए राति गुडिरहेको गाडीमा मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । रावत मुगुबाट सोही गाडीमा चढेर जुम्ला आउँदै गरेको अबस्थमा उक्त घटना भएको थियो।
प्रहरी नायव उपरीक्षक रेग्मीका अनुसार, रावत ०२००१ ख ११३८ नम्बरको एसएमएल गाडीमा सुतेका थिए । जुम्ला आइपुगेपछि अन्य यात्रुले उठाउन खोज्दा नउठेपछि हेर्दा उनी मृत अवस्थामा रहेको खुलेको थियो।
गाडीमा सवार अन्य यात्रुहरूले सुतिरहेको बाहेक कुनै असामान्य गतिविधि नदेखेको बताएका छन्। परिवारका सदस्यले गणेश रावतलाई खासै गम्भीर बिरामी नभएको तर कहिलेकाहीँ मदिरा सेवन गर्ने गरेको बताए । रावतको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको बताइएको छ।















